श्रीलंकाबाट फर्किए प्रचण्ड

श्रीलंकाबाट फर्किए प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने श्रीलंका भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् ।

प्रचण्डलाई पार्टी नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

श्रीलंका भ्रमणका क्रममा प्रचण्ड कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा कोलम्बोमा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी भए ।


सम्मेलनलाई सम्बोधन गर्दै उनले एसियाली क्षेत्रका समसामयिक राजनीतिक विषय, जनताको अधिकार, सामाजिक न्याय तथा प्रगतिशील शक्तिहरूबीचको सहकार्यका आवश्यकतामा जोड दिएका थिए ।

श्रीलंका बसाइका क्रममा उनले श्रीलंकाका प्रमुख वामपन्थी दलका शीर्ष नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।

भेटवार्तामा आपसी राजनीतिक अनुभव आदानप्रदान, दुई देशका वामपन्थी शक्तिबीचको सम्बन्ध विस्तार तथा आगामी सहकार्यका विषयमा छलफल भएको नेकपाले जनाएको छ ।

उनले श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुना (जेभीपी) का महासचिव तिल्भिन सिल्भासहित पार्टी पोलिटब्युरो सदस्यहरूसँग छुट्टै छलफल गरे ।

श्रीलंका बसाइका क्रममा प्रचण्डले विभिन्न मुलुकबाट सम्मेलनमा सहभागी भएका राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील वौद्धिक व्यक्तित्वहरूसँग भेटघाट गर्दै अन्तर्राष्ट्रिय राजनीतिक सहकार्यका विषयमा विचार आदानप्रदान गरेको उनको सचिवालयले जनाएको छ ।

तीन दिनसम्म चलेको सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, चीन, ताइवान, कोरिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, इरान, लेबनान, जापान, अस्ट्रेलिया, इन्डोनेसियालगायत एसियाली मुलुकका कम्युनिस्ट, समाजवादी तथा प्रगतिशील राजनीतिक दलका नेताहरूको सहभागिता थियो ।

सम्मेलनमा जलवायु परिवर्तन, विश्व तथा क्षेत्रीय आर्थिक संकट, सैन्यीकरण र नव–नाजी प्रवृत्तिको विस्तार, एसियाली क्षेत्रमा वैदेशिक हस्तक्षेप, क्षेत्रीय शान्ति तथा स्थायित्व, र समाजवाद निर्माणका लागि एसियाली मुलुकहरूबीचको एकता र सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो ।


प्रचण्ड गत ३१ असारमा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बोलम्बो प्रस्थान गरेका थिए ।


प्रचण्डसँगै नेपाली नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र पुत्री गंगा दाहाल श्रीलंका गएका थिए ।