उद्धारमा सरकारको कमजोरीले धेरैको ज्यान गयोः प्रचण्ड

उद्धारमा सरकारको कमजोरीले धेरैको ज्यान गयोः प्रचण्ड


जनकपुर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीबाट प्रभावितको उद्धारमा सरकार सुरुदेखि नै गम्भीर नबनेका कारण मृतकहरुको संख्या बढेको आरोप लगाएका छन् ।

जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर प्रारम्भमै प्रभावकारी उद्धार अभियान सञ्चालन गर्न सकेको भए बाढीमा परेका धेरै नागरिकलाई जोगाउन सकिने दाबी गरे ।

‘शुरुदेखि नै स्वदेशी तथा विदेशी विज्ञहरूको सहयोग लिएर व्यवस्थित रूपमा उद्धार गरिएको भए अझ धेरै मानिसको ज्यान बचाउन सकिन्थ्यो’, प्रच(डले भने, ‘ १०–११ दिनपछि पनि मानिसहरू जीवित फेला परेका छन् । यसबाट उद्धारमा भएको कमजोरी स्पष्ट हुन्छ ।’

विपद्को समयमा सरकारले अहंकारभन्दा माथि उठेर संवेदनशील र जनउत्तरदायी भएर काम गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ थियो ।

उनले बाढीपछि पनि ठूलो संख्यामा नागरिक बेपत्ता रहेकाले खोजी कार्यलाई तीव्रता दिन तथा पीडितका लागि राहत र पुनःस्थापनाको कामलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे ।

रसुवा बाढीलाई प्रचण्डले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको गम्भीर प्रभावको उदाहरणका रूपमा उल्लेख गरे । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र विपद्बाट भएको क्षतिका विषयलाई अझ प्रभावकारी रूपमा उठाउनुपर्ने उनको भनाइ छ ।

‘बढी कार्बन उत्सर्जन गर्ने विकसित देशहरूले नेपालजस्ता प्रभावित देशलाई सहयोग गर्नुपर्छ,’ उनले भने ।

पहाडी क्षेत्रमा विपत्ति पर्दा मधेस र मधेसमा संकट आउँदा पहाडले सहयोग गर्ने परम्परालाई निरन्तरता दिनुपर्नेमा पनि प्रचण्डले जोड दिए ।

‘पहाडमा पीडा हुँदा मधेसले र मधेसमा पीडा हुँदा पहाडले सहयोग गर्ने हाम्रो परम्परालाई अहिले पनि निरन्तरता दिनुपर्छ । यसले राष्ट्रिय एकतालाई थप बलियो बनाउँछ,’ उनले भने ।