पाँच वर्ष पूरै प्रधानमन्त्रीमा सघाउने प्रचण्डलाई देउवाको औपचारिक प्रस्ताव


काठमाण्डु- नेपाली कांग्रेसका शिर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आइतबार राति बालुवाटार पुगेर कांग्रेसका शिर्ष नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डसँग भेटवार्ता गरेको हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला आइतबार राति बालुवाटार पुगेका थिए ।

उनीहरुले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्न प्रचण्डसँग आग्रह गरे । यदि माओवादीले आफ्नो पार्टीको उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा सहयोग गरेको खण्डमा प्रचण्डलाई पाँच वर्ष नै प्रधानमन्त्रीमा सघाउने औपचारिक प्रस्ताव देउवाले प्रचण्डसमक्ष राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने सोमबार पदाधिकारीको बैठक बसेर यसबारे ठोस निर्णय लिने जवाफ दिएका छन् । पछिल्लो समय नेपाली कांग्रेसका शिर्ष नेताहरु प्रचण्डसँग निरन्तर छलफलमा छन् ।

गत पुस १० गते नेपाली कांग्रेसले पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउन नमानेपछि प्रचण्ड कांग्रस नेतृत्वको पाँच दलीय गठबन्धनबाट अलग्गिएका थिए । गत पुस १० गते नै नेकपा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने । प्रचण्ड प्रधानमन्त्री बन्दाँ खेरि उनी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीमा आलो पालो गर्ने र राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो ।

राष्ट्रपति एमालेलाई दिने समझदारी भए पनि पुस २६ गते कांग्रेसले विश्वासको मत दिएपछि प्रचण्डले राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेका छन् । यता नेकपा एमालेले भने कुनै पनि हालतमा आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचन हुने दाबी गरिरहेको छ । एमालेले राष्ट्रपति निर्वाचनमा माओवादीले पहिलाको सहमति अनुसार सहयोग गर्ने दाबी गरेको छ ।

तर, प्रचण्ड भने पुस १० गतेको सहमतिबाट पछि हटिसकेका छन् । यता पुस १० सम्म प्रचण्डलाई प्रधानमन्त्री दिन तयार नभएको कांग्रेस यतिबेला तत्कालीन पाँच दलीय गठबन्धनलाई पुरानै अवस्थामा फर्काउने रणनीतिमा लागेको छ ।

पछिल्लो राजनीतिक अवस्था हेर्दा राष्ट्रपति निर्वाचनमा कांग्रेस र माओवादी मिल्ने संकेत देखिएको छ । माओवादी नेताहरुले पनि एमालेलाई राष्ट्रपतिमा सहयोग नगर्न प्रचण्डलाई दबाब दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement