परराष्ट्रमन्त्रीको भारत भ्रमणः प्रधानमन्त्री ओलीको विशेष सन्देशसहित मोदीलाई भेट्ने


काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणमा जाँदैछन् । उनी आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन भारत जान लागेका हुन् ।

भ्रमणका क्रममा कोरोना भाइरसको खोप खरिद, सीमा समस्या समाधान र कोरोनाका कारण थला परेको आर्थिक साझेदारीका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रका प्रवक्ता सेवा लम्सालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने तयारी भइरहेको जानकारी दिइन् । उनले दूतावासले परराष्ट्रमन्त्री ज्ञवाली र मोदीबीचको भेटवार्ताबारे वर्कआउट गरिरहेको बताइन् ।

स्रोतकाअनुसार मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सन्देशसहितलाई मोदीसँग भेट गर्नेछन् । मन्त्री ज्ञवालीले २ गतेको द्विपक्षीय बैठकपछि प्रधानमन्न्त्री मोदीसँग भेट गर्ने परराष्ट्र स्रोतले जानकारी दियो । कोरोना भाइरसको महामारीपछि नेपालबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

करिब १७ महिनाअघि भारतका विदेशमन्त्रीको नेपाल भ्रमणपछि उच्च कूटनीतिक तहमा पहिलोपटक नयाँदिल्ली जान लागेका मन्त्री ज्ञवालीले शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै त्यसलाई दुवै देशका जनताको बृहत्तर हितका निम्ति उपयोग गर्ने अपेक्षा गरिएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीस्तरमा भएका समझदारीलाई संस्थागत गर्ने, तिनको शीघ्र कार्यान्वयनका निम्ति योजना तर्जुमा तथा विगतमा भएका सहमति र सम्झौतालाई लागू गर्ने दिशामा उत्पन्न व्यवधान अन्त्यका निम्ति परामर्शमात्र नभइ एक्काइसौँ शताब्दी सुहाउँदो नेपाल–भारत सम्बन्धलाई नयाँ दिशा प्रदान गर्ने मार्गचित्रको खाका बनाउने बारेमा पनि आयोगको बैठकमा छलफल हुनेछ ।

नेपाल–भारत सम्बन्धका सबै आयामलाई समेट्नुका साथै दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन नेपाल–भारत सम्बन्धका जानकार व्यक्तित्व सम्मिलित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन, भारत सरकारको सहयोगमा सञ्चालित विकास–निर्माणका परियोजनाहरूको धरातलीय यथार्थसहितको वस्तुस्थितिबारे सम्बन्धित पक्षबाट बैठकमा जानकारी गराइनेछ भने तिनलाई द्रुतगतिमा कार्यान्वयन गर्न उच्चस्तरबाट हुनुपर्ने नीति एवं प्रक्रियागत निर्णयमा विलम्ब नगर्ने प्रतिबद्धता पनि व्यक्त हुनेछ ।

महाकाली नदीमा बाँध बनाएर पाँच हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने र दुवै देशका लाखौँ हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने तीन दशक पुरानो उक्त परियोजनालाई कागतमा मात्र सीमित नराखेर कार्यान्वयनमा नै जानुपर्ने अडान बैठकको महत्वपूर्ण कार्यसूची हुनेछ ।

पाँचौं बैठकमा रक्सौल–काठमाण्डु विद्युतीय रेल लाइन, आन्तरिक जलमार्ग र कृषि क्षेत्रमा साझेदारीका साथै दुवै देशले व्यापार पारवहन र रेलसेवासम्बन्धी सन्धि सम्झौतालाई शीघ्र निष्कर्षमा टुङ्ग्याउने प्रमुख सीमानाकामा व्यापार तथा पारवहनलाई सहज तुल्याउने भौतिक पूर्वाधारको मर्मतसम्भार एवं स्तरोन्नति गर्ने सहमति भएको थियो । त्यसैगरी दुवै देशले डुबानलाई गम्भीर समस्याका रुपमा रहेको स्वीकार गर्दै नेपाल–भारत सीमा क्षेत्रका डुबान प्रभावित भेगमा दुवै देशको संयुक्त प्राविधिक टोलीले दिएका सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन आगामी माघ १ देखि ३ गतेसम्म भारतको भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुनेछ । नयाँदिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल, परराष्ट्र मन्त्रालयको भारत महाशाखा प्रमुख यज्ञबहादुर हमालका साथै अर्थ, ऊर्जा, सिँचाइ तथा जलस्रोत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । मन्त्री ज्ञवाली माघ ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement