काठमाण्डु – नेपाली कांग्रेसका तीन सांसदले स्थानीय तहको भन्दा पहिला संघ र प्रदेशको निर्वाचन गर्न माग गरेका छन् ।
शुक्रबार नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेसको संसदीय दलको बैठकमा उनीहरूले पहिला संघ र प्रदेशको निर्वाचन गरेपछि मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
सांसदहरू डा.नारायण खड्का, ईश्वरी न्यौपाने, देवप्रसाद तिमिल्सिनाले संघ र प्रदेशको निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्नेगरी व्यवस्था मिलाउन प्रस्ताव गरेका हुन् । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले उनीहरूले संघको निर्वाचन पहिला गर्ने प्रस्ताव गरेको जानकारी दिए ।
बैठकमा सांसदहरू बोल्ने क्रम नसकिएकाले कुनै निर्णय नभएको घिमिरेले बताए । सांसदहरू बोलिसकेको र मन्त्रीहरू, पदाधिकारीहरू र नेताहरूले बोल्ने क्रम बाँकी रहेकाले २४ माघमा बिहान ८ बजे पुनः संसदीय दलको बैठक कांग्रेसले बोलाएको छ ।
आजको बैठकमा सांसदहरूले अध्यादेश, पाथीभराको केबलकारका विषयमा भइरहेको द्वन्द्वबारे प्रश्न उठाएका थिए ।
प्रतिक्रिया