स्थापना दिवसबारे कांग्रेस नेता नै अनविज्ञ


काठमाडौ‌ –   व्यक्तिको जन्मदिन आउनुअघि सामाजिक सञ्जालमा शुभकामना साट्ने, पाटी गर्ने र केक काट्ने संस्कृति छ । राजनीतिक दलका नेतासमेत यो प्रचलनबाट अछुतो छैनन् । तर, कांग्रेसका अधिकांश नेता भने आफ्नै पार्टीको स्थापना दिवस कहिले हो भन्ने विषयमा बेखबर मात्र होइन अनविज्ञसमेत देखिएका छन् ।

बीपी कोइराला नेतृत्वको तत्कालीन राष्ट्रिय कांग्रेस र सुवर्णशमशेर नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेसबीचको एकतापछि बनेको नेपाली कांग्रेसको स्थापना दिवस कांग्रेसी नेताले नै बिर्सिएका छन् । तत्कालीन दुई कांग्रेसबीचको एकताबाट गठन भएको नेपाली कांग्रेसको ६८औं स्थापना दिवस मंगलबार हो । तर, पार्टीको स्थापना दिवसजस्तो महत्वपूर्ण अवसर नै कांग्रेस नेताको स्मरणमा अट्न सकेन ।

सभापति शेरबहादुर देउवाले मंगलबार बिहानै सामाजिक सञ्जाल ‘ट्वीटर’मार्फत पार्टी स्थापना दिवसको शुभकामना दिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका अधिकांश नेताले स्थापना दिवसबारे अनविज्ञता प्रकट गरेका छन् । ‘खोइ मलाई त थाहा भएन, भएको भए त पार्टीले औपचारिक कार्यक्रम गरेर मनाउने निर्णय गर्नेथ्यो, याद भएन,’ वरिष्ठ नेता पौडेलले भने ।

कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले समेत पार्टी स्थापना दिवसका विषयमा आफू जानकार नरहेको बताए । आफूलाई स्थापना दिवस कुन हो भन्ने विषयमा जानकारी नभएको भन्दै उनले नेताहरूलाई साँधेर यकिन गर्न आग्रह गरे । केन्द्रीय सदस्य तथा पूर्वप्रवक्ता दिलेन्द्रप्रसाद बडुले समेत सोबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘मलाई स्थापना दिवसबारे जानकारी भएन,’ बडुले भने, ‘मुख्य सचिव र प्रवक्तालाई सोध्नुपर्ला ।’

केन्द्रीय सदस्यसमेत रहेका कोइराला परिवारका सदस्य डा. शेखर कोइरालाले भने बीपी र सुवर्णशमशेर नेतृत्वको दुई कांग्रेसबीच २७ चैत २००६ मा पार्टी एकता भएको दिनलाई स्थापना दिवसका रूपमा मनाउनुपर्ने बताए । तर, यसबारे पार्टीले हालसम्म कुनै निर्णय गरेको छैन ।

कांग्रेस नेता चन्द्र भण्डारीको भने स्थापना दिवसको विषयमा फरक राय छ । उनी बीपी कोइरालाले स्थापना गरेको राष्ट्रिय कांग्रेस पहिलो भएको भन्दै सोही मितिलाई पार्टी स्थापना दिवसका रूपमा मनाउनुपर्ने बताउँछन् । तर, यस विषयमा उनले हालसम्म केन्द्रीय समितिदेखि लिएर सार्वजनिक फोरममा समेत कुनै आवाज उठाएका छैनन् ।उनी पार्टीले औपचारिक निर्णय नगरेका कारण आफूले यस विषयमा कुनै बहस नगरेको बताउँछन् ।

‘बीपी नेतृत्वको नेपाल राष्ट्रिय कांग्रेस र सुवर्णशमशेर नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेसबीचको एकतापछि नेपाली कांग्रेसको स्थापना २७ चैत २००६ मा भएको हो, नेपाली कांग्रेस स्थापना भएको मंगलबार ६८ वर्ष पुगेको छ,’ कोइरालाले भने ।उनले कांग्रेसको स्थापना दिवसलाई औपचारिक रूपमा नै पार्टीको क्यालेन्डरमा नै उल्लेख गरेर नियमित रूपमा मनाइनुपर्नेमा पार्टी र नेतृत्व यसमा चुक्दै आएको बताए ।

अर्का नेता डा. रामशरण महतले पनि दुई कांग्रेसबीचको एकतापछि बनेको नेपाली कांग्रेसको स्थापना दिवस २७ चैत नै रहेको जानकारी दिए । उनले भने, ‘अघिल्ला वर्षमा औपचारिक कार्यक्रम भएको थाहा छैन, यसपटक त पार्टी शोकमा रहेकाले हुने कुरै भएन,’ महतले भने ।

बीपी र सुवर्णशमशेरको नेतृत्वमा रहेका दुई कांग्रेस एक भएपछि नेपाली कांग्रेसको स्थापना दिवस सोही दिनलाई मानिँदै आएको छ । भारतको कोलकातास्थित टाइगर सिनेमा भवनमा राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच संयुक्त अधिवेशनमार्फत एकीकरण भएको बताइँदै आएको छ ।

देउवाले मंगलबार बिहानै ट्वीटरमार्फत पार्टी स्थापना दिवसको शुभकामना दिँदै ‘नेपाली कांग्रेसको जन्मदिनको शुभकामना’ भनी लेखेका थिए । उनको सचिवालयले नेता खुमबहादुर खड्काको शोकमा पार्टी रहेका कारण कुनै औपचारिक कार्यक्रम भने नगरिएको बतायो । अाजकाे राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement