निर्वाचन खर्च विवरण बढी खर्च गर्नेमा कांग्रेस, दोस्रोमा एमाले


काठमाडौं- गत १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी रकम नेपाली कांग्रेसले खर्च गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचनमा विभिन्न १० शीर्षकमा भएको खर्च रकमको विवरण पेस गर्न ५ चैतसम्मको समय दिएकोमा सबैभन्दा बढी खर्च नेपाली कांग्रेसले गरेको देखिएको हो । कांग्रेसपछि दोस्रोमा नेकपा एमालेले गरेको छ । सबैभन्दा कम खर्च गर्ने दल नेपाल दर्शन पार्टी रहेको छ ।

एमालेले ५ चैतको समयसीमा नघाएर सोमबार मात्र खर्च विवरण आयोगमा पेस गरेको थियो । आयोगको कानुन शाखाका अधिकृत घमचन्द्र तिमल्सिनाले एमालेले सोमबार खर्च विवरण बुझाएको जानकारी दिए । आयोगमा दलहरूले बुझाएको विवरणअनुसार कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ ११० जना उम्मेदवार उठाएकोमा २ करोड ५ लाख ८३ हजार ४९६ रुपैयाँ खर्चको विवरण पेस गरेको छ ।

यसैगरी, एमालेले १०९ जना उम्मेदवार उठाउँदा १ करोड ७७ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेको छ । नेकपा माओवादी केन्द्रले ११० जना उम्मेदवार उठाउँदा ३४ लाख १९ हजार ८७५ रुपैयाँ खर्च गरेको विवरण आयोगमा बुझाएको छ ।

कसको खर्च कति ? (रुपैयाँमा)
नेपाली कांग्रेस : २,०५,८३,४९६
एमाले : १,७७,१७,०००
माओवादी केन्द्र : ३४,१९,८७५
यस्तै, विवेकशील साझा पार्टीले २४ उम्मेदवार उठाएकोमा ११ लाख २१ हजार ३६३ रुपैयाँ खर्च गरेको विवरण बुझाएको छ भने नयाँ शक्ति पार्टी नेपालले १०६ जना उम्मेदवारका लागि ३७ लाख ७५ हजार खर्च गरेको विवरण बुझाएको छ ।  यसैगरी, राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ६२ लाख रुपैयाँ खर्च गरेको छ भने नेपा राष्ट्रिय पार्टीले ६ लाख ९८ हजार ६४० रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ ।

नेपाल मजदुर किसान पार्टीले भने ८ लाख १६ हजार ९२० रुपैयाँ, राष्ट्रिय जनमोर्चाले ८ लाख २४ हजार ४३ रुपैयाँ, राप्रपाले ३२ लाख ९८ हजार, राप्रपा प्रजातान्त्रिकले १ करोड १ लाख ४० हजार र नेपाल दर्शन पार्टीले १ लाख ४५ हजार रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख गरिएको छ । प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

आयोगले मतदाता नामावली खरिद, सवारी साधन, इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी कार्यकर्ता परिचालन, अन्य प्रचारप्रसार छापा एवं विद्युतीय माध्यम, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध गरी कुल १० शीर्षकमा रकम खर्च गर्न अनुमति दिएकोे थियो ।

फोरमले अझै बुझाएन
आयोगका अनुसार संघीय समाजवादी फोरम नेपालले भने प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ गरेको खर्चको विवरण आयोगमा बुझाएको छैन । समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जनाको बन्दसूची पेस गरेको फोरमले आयोगले खर्च विवरण बुझाउन दिएको समय नाघेर १५ दिन बढी हुँदासमेत बुझाएको छैन ।

कानुन शाखाका अधिकृत घमचन्द्र तिमल्सिनाले संघीय समाजवादी फोरम नेपालबाहेकका अन्य दलको विवरण प्राप्त भएको बताए । उनले खर्च विवरण नबुझाएको फोरमले धरौटीबापतको रकम फिर्ताका लागि भने निवेदन दिएको बताए । दलहरूलाई आयोगले धरौटी रकम फिर्ताका लागि २ वैशाखसम्मको समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement