निजीभन्दा स्मार्ट पार्किङको शुल्क महँगो


काठमाडौं – काठमाडौं महानगरपालिकाले सुरु गरेको ‘स्मार्ट पाकिङ’ को शुल्क निजीको भन्दा महँगो भएको गुनासो उपभोक्ताले गरेका छन् । निजी कम्पनीसँगको साझेदारीमा महानगरपालिकाले ३२ जेठदेखि काठमाडौंका दरबार मार्ग, विशालबजार, न्युरोड, खिचापोखरी, पाको र धर्मपथ क्षेत्रमा स्मार्ट पार्किङ सुरु गरेको हो । महानरपालिकाले निजी कम्पनी ह्विल ट्र्युली योर्स र एड ग्रुपको साझेदारीमा स्मार्ट पार्किङ सुरु गरेको हो ।

कम्पनीले उपभोक्तासँग दुईपांग्रे सवारीसाधनको प्रतिघन्टा २५ रुपैयाँ र चारपांग्रे सवारीसाधनको प्रतिघन्टा ८० रुपैयाँ लिँदै आएको छ । तर, निजी कम्पनीले दुईपांग्रेको प्रतिघन्टा २० र चारपांग्रेको प्रतिघन्टा ५० देखि ६० रुपैयाँ मात्रै शुल्क लिन्छन् । महानगरसँगको सम्झौताअनुसार कम्पनीले पाँच वर्षसम्म सोही दरमा शुल्क उठाउन पाउनेछ ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले स्मार्ट पार्किङका नाममा स्थानीय सरकारबाटै लुट मच्चाइनु शोभनीय नभएको बताए । उनले भने, ‘निजी कम्पनीसँगको साझेदारीमा काठमाडौंका केही सहरमा स्मार्ट पार्किङ सुरु भएको पाइयो । प्रविधिमैत्री बन्ने काम राम्रै होला । तर, निजी कम्पनीले यसैका नाममा उपभोक्ताबाट महँगो शुल्क असुल्ने गरेको पाइएको छ । यसरी उपभोक्ता लुट्न पाइँदैन ।’

विशेषगरी, उपभोक्तको विरोध पाँच मिनेट र एक घन्टा पार्क गरेको शुल्क बराबर असुलिनेमा छ । दरबारमार्गमा कार पार्किङपछि बिहिरिँदै गरेको अवस्थामा भेटिएका चलचित्रकर्मी करण श्रेष्ठले भने, ‘मैले २० मिनेट जति गाडी पार्क गरेँ होला । तर, शुल्क ८० रुपैयाँ तिरेँ । यो अति महँगो भयो । मिनेटको हिसाबमा तिर्छुभन्दा नपाइने रहेछ । पार्किङमा प्रविधि प्रयोग गरिनु राम्रो हो । तर, यसैका नाममा उपभोक्ता ठगिनु राम्रो भएन । यो समाचार नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement