पुर्खाजित राईद्धारा निर्देशित सडक नाटक ‘थकथकी’ मञ्चन


काठमाण्डु – आदिवासी जनजाति चलचित्र महासंघका महासचिव पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा रुकुम पूर्बका बिभिन्न स्थानमा जनचेतनामूलक सडक नाटक ‘थकथकी’ मञ्चन गरिएको छ ।

 जिल्लाकाे पुथा उत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको नाटक ‘थकथकी’ प्रतिनिधिसभा सदस्य कमला रोकाको प्रमुख आतिथ्यतामा मञ्चन गरिएको हो ।

गाउँपालिकस्थित श्री महेन्द्र उच्च माबि. तक, नयाँबजार तकसेरा र श्री पुथा हिमालय मा. बि. मैकोटमा देखाइएको उक्त नाटकमा समाजमा हुने बाल विवाहलाई देखाउन खोजिएको छ ।

राईको परिकल्पना तथा निर्देशनमा तयार पारिएको नाटकमा जे बि डि.सि, ज्योति राई, प्रिती पुन, मन प्रसाद बिक, संस्कृति पुन मगर, रेन्जु बुढा, संजु घर्ति, सुरबी पुन, सपना पुन, सिरमाया पुन, जलन गुरुङको अभिनय रहेको छ ।

नाटकमा बाल विवाह गर्दा व्यक्तिलाई हुने जोखिम र समाजमा पर्ने नकारात्मक असरलाई देखाउंदै यसका न्यूनीकरणका उपायहरु प्रस्तुत गरिएको नाटकका निर्देशक राईले बताए ।

नाटकमा सबैले आ–आफ्नो भूमिका बुलन्द किसिमले प्रदर्शन गरेका थिए । रुकुम पूर्व लगायत नेपालका अन्य पहाडी तथा हिमाली जिल्लाहरुमा अझै पनि बाल विवाहको प्रचलन ब्याप्त छ । यसलाई न्यूनीकरण गर्न यस्ता खाले जनचेतनामूलक नाटक प्रभावकारी हतियार बन्ने निर्देशक राईले बताए ।

उक्त कार्यक्रममा प्रदेश सांसद तेज बहादुर ओली लगायत विभिन्न राजनितिक दलका नेता, पालिकाका प्रवक्ता, कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement