केपी ओलीले घरमै आगो लगाइदिनुभयो, माधव नेपाल एक नम्बर अध्यक्षः प्रचण्ड


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर संविधान भाँचेको आरोप लगाएका छन् ।

बुधबार काठमाण्डुमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीले विदेशीको इशारामा नेपालको संविधानमाथि प्रहार गरेको बताएका छन् ।

‘केपी ओली बैठकबाट भाग्ने भगौडा हो । यो प्रचण्डलाई खेद्ने कारण के पर्‍यो ? विदेशी आएर के–के मन्त्र सुनाए । जी न्यजको अन्तर्वार्ता नाटक नै हो । उहाँले भारत र आफ्नै पार्टीबाट हटाउन खोजे भन्नुभयो । हामीले हटाएनौं नि । तर, भारतको दबाबमा यसलाई तपाई के भन्नुहुन्छ केपीजी ? मैले भारतलाई भन्न खोजेको होइन । म भएको भए त्यति नै बेला राजीनामा दिइहाल्थें’, उनले भने, ‘पहिले पनि सरकार छोड्नुपर्यो भने कुर्सी भाँच्छु भन्नुभयो । तर, उहाँले संविधान, गणतन्त्र नै भाँच्नुभयो । सबै भाँचभुच पारेको छ । भाङ खाएर नाचेको जस्तो । निर्वाचन आयोग, सर्वोच्च अदालत पनि केही होइन । तानाशाहा जस्तो । कमिलाको प्वाँख उम्रिएपछि छिट्टै चिप्लिन्छ । उहाँ गणतन्त्र विरोधी हो । पोहोरबाट उहाँले पार्टी फुटाउन खोज्नुभयो । अहिले त उहाँले घरमै आगो लगाइदिनुभयो । सर्वोच्चमा सरी भनेर निवेदन दिनुभयो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली समूहको सभा प्रहसन र कमेडी शो जस्तो भएको बताएका छन् । जबज छोड्ने पहिलो व्यक्ति केपी ओली नै भएको बताएका छन । उनले पहिलो नम्बरको अध्यक्ष माधव नेपाल भएको बताएका छन् ।

‘जबज छोड्ने पहिलो व्यक्ति केपी ओली नै हो । माधवजी एक नम्बर अध्यक्ष हो । केपी ओलीले माधव नेपाल प्रचण्डसँग मिल्न गयो भन्नुभयो । प्रचण्ड चाँही माधव नेपालसँग मिल्न गएको हो’, उनले भने ।

उनले अहिलेको समय भनेको राजनीतिक दल र जनताले ७० वर्षदेखि गरेको संघर्ष उपलब्धिलाई प्रधानमन्त्री ओलीले खोसेको बताए । उनले ७० वर्षको राजनीतिक आन्दोलनको उपलब्धिका रुपमा रहेको संघीइ लोकतान्त्रिक गणतन्त्रात्मक संविधान धरापमा परेको बताउँदै त्यसलाई जोगाउन संघर्ष गर्नुपर्ने बताएका हुन् ।

‘हामी राजनीतिक हिसाबले अप्ठ्यारो अवस्थामा छौँ, ७० वर्षदेखि हामीले जे जति संघर्ष ग¥यौँ, जनताले बलिदान गरे, ती सबैको उपलब्धि गणतन्त्र घोषण र गणतन्त्रात्मक संविधान निर्माण ग¥यौँ त्यो अहिले धरापमा छ’, उनले भने ।

अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनपछि राष्ट्र र जनतामा देखा परेको संकटलाई समधान गर्ने उपयबारे र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएको बताए ।

‘हामी यहाँ कुनै प्रहसन देखाउन जुटेका छैनौँ, हामी यहाँ उखानटुक्का गरेर हँसाउनका लागि कमेडी शो गर्न पनि उपस्थित भएका छैनौँ, हामी मानिसहरुलाई दिग्भ्रमित पार्ने, उद्देलिन पार्ने, उत्तेजित पार्ने पार्नै कुराका निम्ति पनि यहाँ जुटेका होइनौँ’, अध्यक्ष प्रचण्डले भने, ‘हामी आज राष्ट्र र जनतामा देखापरेको संकटलाई समधान गर्ने उपयबारे छलफल गर्न र यो संकटबाट बाहिर निस्कन उपायबारे छलफल गर्ने उपस्थित भएका छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement