काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहबीच शनिबार भेटवार्ता भएको छ ।
मन्त्री साह बिहान ११ः१५ बजे लामिछाने निवास बुढानीलकण्ठ पुगेका थिए । उनीहरूबीच आधा करिब ४० मिनेट कुराकानी भएको थियो ।
उद्योगमन्त्री गौरीकुमारी यादवलाई हटाएर प्रधानमन्त्रीले बिहीबार साहलाई उद्योगमन्त्री नियुक्त गरेका थिए ।
यादवलाई हटाएर आफूलाई मन्त्री बनाइएकामा सभापति लामिछाने असन्तुष्ट रहेको चर्चा भइरहेका बेला साह उनलाई भेट्न पुगेका हुन् ।
स्रोतका अनुसार साहलाई मन्त्री बनाउने निर्णयबारे लामिछानेलाई उनको शपथग्रहण हुनुभन्दा केहीबेरअघि मात्र जानकारी दिइएको थियो ।
यसअघि उद्योगमन्त्री रहेकी यादवले ग्यास संकट सरकारका कारण नभई व्यवसायीको बदमासीका कारण भएको बताएकी थिइन् । उनले ग्यास उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएपछि विवाद उत्पन्न भएको थियो । विवादित अभिव्यक्तिपछि प्रधानमन्त्रीले यादवसँग राजीनामा मागेका थिए ।
भेटमा उपत्यकामा विद्यमान खाना पकाउने ग्यासको आपूर्ति सहज गराउने विषयमा छलफल भएको बताइएको छ । लामिछानेले ग्यास संकट समाधान गर्न सबै विकल्प प्रयोग गर्न साहलाई निर्देशन दिएका छन् ।
मन्त्री साहले शनिबार नै ग्यास उद्योगी तथा सम्बन्धित सरोकारवालालाई बोलाएर उपत्यकामा देखिएको ग्यास आपूर्ति संकट समाधानका विषयमा सुझाव लिएका थिए ।




प्रतिक्रिया