अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले बुझाए ओहोदाको प्रमाणपत्र


काठमाडौं – अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले आफ्नो ओहोदाको प्रमाणपत्र अस्ट्रेलियाको गभर्नर जनरल डेभिड हर्लेसमक्ष बुझाएका छन् । यसका लागि क्यानबेरामा रहेको गभर्नर जनरलको कार्यालय ‘गभर्नमेन्ट हाउस’मा विशेष कार्यक्रम राखिएको थियो ।

ओहोदाको प्रमाणपत्र बुझाउँदै राजदूत दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले गभर्नर जनरललाई पठाएको अभिवादन सुनाएका थिए । प्रमाणपत्र बुझाएपछि गभर्नर जनरल हर्लेसँग राजदूत दाहालले केही समय भेटवार्ता समेत गरेको अस्ट्रेलियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

सो क्रममा दाहालले दुई देशबीचको सम्बन्ध सन् १९६० मा स्थापना भएयता सुमधुर रहँदै आएको बताए । उनले सन् २०२० मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठ मनाउने तयारीमा दुवै देश रहेको बताएका थिए । सो क्रममा राजदूत दाहालले दुई देशबीच व्यापार, पर्यटन र विशेषतः कृषि र ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

गभर्नर जनरल हर्लेले नवनियुक्त राजदूतलाई आफ्नो देशमा स्वागत गरेको बताएका थिए । उनले राजदूत दाहालको सफल कार्यकालको शुभकामना दिएको दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement