सुधीर चौधरीसँगको भेटवारे अनेरास्ववियुको आपत्ति, ओली र जी न्यूजले माफी माग्नुपर्छः रञ्जित तामाङ


काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय टेलिभिजन च्यानल जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले माफी माग्नुपर्ने बताएको छ ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले एक विज्ञप्ति जारी गर्दै चौधरी र उनको संचारसंस्थालाई भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण नगर्न भन्दै अविलम्ब माफी माग्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर अन्तर्वार्ता दिएकै भोलिपल्ट सुधीरले नेपाली अस्मिता र स्वाभिमानमाथि धावा बोल्दै सगरमाथामाथि आधारहीन र कपोकल्पित ढंगले आपत्तिजनक रिपोर्ट प्रशारण गरेका थिए ।

नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार आपत्तिजनक समाचार प्रशारण गर्दै आएको जी न्युजलाई प्रधानमन्त्रीस्तरबाटै बालुवाटारमा स्वागत गरिएको परिघटनाले थप आशंकित र आक्रोशित तुल्याएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधान लत्याएर प्रतिगमनको बाटोमा हिँडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने ब्यक्ति र संस्थाहरुसंग रहस्यमय र अपारदर्शी भेटघाट र सांठगांठ नगर्न चेतावनी दिन चाहन्छौं । यसका साथै प्रधानमन्त्री ओलीलाई चौधरीसँगको भेटवारे तत्काल जनतालाई स्पष्ट पार्न, आइन्दा त्यस्ता कुटनीतिक मर्यादा विपरितका भेटघाट नगर्न र यसअघि गरेको कुटनीतिक मर्यादा विपरितका भेटघाटबारे जनता समक्ष अविलम्ब माफी माग्न जोडदार माग गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement