गुल्मीमा ३० रूपैयाँको लोभ देखाएर १० वर्षीया बालिकाको बलात्कार


काठमाडौं – स्कुल हिँडेकी बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीमा सवारी चालक पक्राउ परेका छन् ।

१० वर्षीया बालिकालाई बिहीबार बलात्कार गरेको आरोपमा प्रहरीले रूरू क्षेत्र गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय भोजबहादुर सार्कीलाई नियन्त्रणमा लिएको हो ।

ती बालिका आफ्ना दाजुसँगै स्कुल जाँदै थिइन् । गाडी चढेको केहीबेरपछि चालकले दाजुलाई सडकमा उतारेर ती बालिकालाई केही पर लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

बहिनीलाई चालकले सँगै लगेपछि दाजुले परिवारलाई खबर गरेका थिए । चालकले ती बालिकालाई ३० रूपैयाँ दिएर फकाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र खड्काले घटनामा संलग्न रहेकालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement