रेखा थापालाई कलाकार भट्टको प्रश्न– उच्च शिक्षा दिने भनेर काठमाण्डु ल्याइएका राउटेहरु अहिले कहाँ छन् ?


काठमाण्डु – अभिनेत्री रेखा थापाको समाजसेवामाथि अभिनेता पुस्कर भट्टले प्रश्न उठाएका छन् ।

पछिल्लो समय मागेर समाजसेवी नहुने तर्क राख्दै आएकी अभिनेत्री थापामाथि मंगलबार सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै अभिनेता भट्टले प्रश्न उठाएका हुन् ।

उनले ‘हिम्मतवाली’ फिल्म प्रदर्शनका बेला उच्च शिक्षा दिने भनेर काठमाण्डु ल्याइएका राउटेहरु अहिले कहाँ छन् ? भन्दै रेखामाथि प्रश्न गरेका छन् । रेखा थापाले फिल्म प्रमोसनका लागि राउटेहरुलाई प्रयोग गरेको आरोप पनि उनले लगाएका छन् ।

उनले अभिनेत्री थापालाई प्रश्न गर्दै लेखेका छन्, ‘हिम्मतवाली’ फिल्म प्रमोसनको लागि नजानिँदो तरिकाले ४ जना राउटेहरुलाई फाउन्डेसनमार्फत् काठमाण्डु ल्याएर हल–हल चहारेर फिल्म प्रमोसनको लागि सोझा राउटेहरूलाई प्रयोग गरेर जुन चर्चा बटुल्न सफल त तपाईं हुनु नै भयो तर त्यसको भोली पल्टै राउटेहरु कहाँ गए, कता गए र कसरी गए ? कुनै समवेदना र भावना तपाईंसँग छ ? आजको मितिसम्म जान्न पनि चाहनु भएको छ रेखाजी ?’

उनले रेखा थापा फाउन्डेसनका लागि २–३ करोड क्यानडाको एक फाउन्डेसनले सहयोग गरेको पनि खुलासा गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘यो सबै गर्ने पैसा तपाईंलाई कहाँबाट आएको थियो ? तपाईंले छातीमा हात राखेर जवाफ दिनुपर्छ । करीब २र३ करोड पैसा तपाईंको आफ्नै थियो कि क्यानडाको कुनै फाउन्डेसनले सहयोग गरेको थियो ? के त्यो बेला तपाईंले चन्दा माग्दा जायज हुने ? अहिले समाजमा केही राम्रो गरेका समाजसेवीहरुले माग्दा तपाईंलाई सहन नहुने ?’

उनले समाज सुधारका लागि सहयोगी भावना राखेर समाजसेवा गरिरहेकाहरुलाई प्रश्न गर्नुभन्दा पहिला रेखा थापा फाउन्डेसनले के गर्‍यो भनेर हेक्का राख्न जरुरी रहेको र समाजमा प्रेरणा बन्छु भन्ने कलाकारबाट समाजलाई दिगभर्रमित पार्ने खालको अभिव्यक्ति दिने छुट नभएको बताएका छन् । भाषणमा बाहेक १५ प्रतिशत समाजका लागि काम गरेर देखाउन पनि उनको सुझाव छ ।

उनले अन्तिम वाक्यमा लेखेका छन्, ‘रेखा थापा फाउन्डेसनको म्यानेजर तथा सक्रिय सदस्यको नाताले मैले राखेको प्रश्नको उत्तर रेखा थापाबाट सार्वजनिक रुपमा पाउने आशामा छु । धेरै पत्र–पत्रिकाहरुले फाउन्डेसन उद्घाटन गर्दा मुख्य समाचार बनाउनु भएको थियो तर तर फाउन्डेसनले के गर्‍यो, के गर्दैछ ? फलोअप समाचार बनाउन पर्दैन थियो ? यो प्रश्न मेरो सम्पूर्ण मिडियाका साथीहरुलाई पनि छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement