काठमाडौं – सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उनको बसाइ र सुताइ आरामदायी नै छ । श्रेष्ठका अनुसार उनको बसाइ भोटेबहालको लजमै हो ।
डेरा लिँदा महिनामा १० हजार रुपियाँ तिर्नुपर्छ तर लजमा सुत्दा प्रतिरात १५० रुपियाँ तिरे पुग्छ । खाना पनि लजमै सस्तोमा पाइन्छ । नुहाउन पानी पाइन्छ । शौचालय व्यवस्थित मिल्छ ।
डेरा कोठामा जस्तो पानी नपाइने, अप्ठ्यारो शौचालय र खाना पकाउने टन्टा भएन । “यति सुविधा हुँदाहुँदै टन्टा कसले बोकोस् ?”, श्रेष्ठको भनाइ छ । त्यसो त काठमाडौँका भोटेबहाल, गणबहाल र सहरका यत्रतत्र लजमा एउटै कोठामा छ बेडको व्यवस्था हुन्छ ।
छ बेडमा १२ जना मिलेर सुत्ने र आधाआधा पैसा उठाएर लजलाई तिर्ने, निरन्तर लजमा सुत्नेलाई त लज सञ्चालकले छुट दिँदा झनै फाइदा हुने श्रेष्ठको अनुभव छ । त्यसो त २०७२ सालको भूकम्पयता डेराकोठा लिन मिल्ने सस्ता खालका कोठा नै छैनन्। सहरभित्रका कतिपय डेरा बस्ने घरमा भएका कोठा डरलाग्दा छन्। कतै भित्ता चर्किएका छन् भने कतै भुइँ धसिएका छन्। परिवार भएकाहरू यस्तैमा सुत्छन् भने परिवार नभएकाको रोजाइ लज हो।
काठमाडौँको मध्य सहरमा फुटपाथमा व्यवसाय गर्नेहरू हुन् वा भरिया, प्रायःको रोजाइ यस्ता लज नै हुन थालेको छ भन्ने खबर गोरखापत्र दैनिकमा छ। दोलखा नाम्दुबाट भारी बोक्न आएका सिद्धिचरण चोक न्युरोडका भरिया प्रकाश कार्कीका अनुसार लजका कोठामा मात्र होइन, छतमा सतरन्जा ओछ्याएर लहरै सुत्ने पनि निकै छन्। घरका छत रात परेपछि यस्तै विश्रामकर्ताले ओगट्छ र बिहान हुनासाथै छत खाली हुन्छ। छतमा एक रात सुतेपछि सुत्नेले रातमा पचास रुपियाँ तिरे पुग्छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया