समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका छ : उपराष्ट्रपति पुन


काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मुलुक परिवर्तनमा सञ्चारमाध्यमको अतुलनीय योगदान रहेको भन्दै समृद्ध नेपाल निर्माणमा पनि उत्तिकै भूमिका हुने बताएका हुन् ।

“लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छ, आर्थिक संकटका कारण पत्रकार विदेशिनु परेको छ, पेशा परिवर्तन गर्नुपरेको छ, त्यसलाई राज्यले गम्भीरतापूर्वक हेर्नुपर्छ,” उपराष्ट्रपति पुनले भने । सञ्चारमाध्यमले कुनै धर्म वा जाति विशेषभन्दा पनि उत्पीडित समुदायको आवाज बोल्नुपर्ने उनको भनाइ थियो ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो पटक सञ्चारमाध्यम गैरजिम्मेवार देखिएको बताउँदै यो क्षेत्रलाई जिम्मेवार, मर्यादित र प्रतिष्ठित बनाउन पत्रकार महासंघलगायतका सबै संघ संगठन लाग्नुपर्नेमा जोड दिए ।

महाधिवेशन भोलि शनिबारसम्म चल्नेछ ।

फोनिजले आदिवासी जनजाति पत्रकारको हकहितका साथै व्यावसायिक पत्रकारिताको माध्यममार्फत देश र जनताको विकासका लागि महत्वपूर्ण योगदान दिँदै आएको अध्यक्ष दण्ड गुरुङले जानकारी दिए।

पत्रकारको दक्षता अभिवृद्धि गर्ने, सञ्चार पैरवी गर्नेजस्ता समाजसेवी भावनाबाट विभिन्न किसिमका अभियानसमेत यसले सञ्चालन गर्दैआएको छ । महाधिवेशनमा ३०० भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी छन् । फोनिजमा आठ वटा जातीय संस्थागत सदस्य आबद्ध छन् । यसको देशभित्र ५० भन्दा बढी शाखा छन् भने विदेशमा चार शाखा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement