काठमाण्डु- विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेको सोधपुछ, धरपकड र पक्राउबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नै सरकारसँग जवाफ मागेको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले पत्रकार पक्राउसम्बन्धी समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसबारे स्पष्ट पार्न वालेन्द्र शाह नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीलाई सोधपुछ, धरपकड र पक्राउ गरिएको समाचार आइरहेको जनाएका छन्।
‘यस विषयमा स्पष्ट पार्न हामी सरकारको ध्यानाकर्षण गराउँछौं,’ खरेलले भनेका छन्।
रास्वपाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सम्मान गर्ने र त्यसप्रति आफ्नो जिम्मेवारी रहेको पनि स्पष्ट पारेको छ।
‘समाचारकै विषयमा कुनै पनि पत्रकार वा सञ्चारकर्मीलाई गैरकानुनी रूपमा पक्राउ गर्न मिल्दैन भन्नेमा रास्वपा स्पष्ट छ,’ खरेलले उल्लेख गरेका छन्।
उनले समाचारप्रति असहमति वा त्यसबाट उत्पन्न विवाद समाधानका लागि न्याय खोज्ने अन्य धेरै बाटा खुला रहेको भन्दै तिनै कानुनी प्रक्रियाको अवलम्बन गर्न आग्रह गरेका छन्।
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयले पक्राउ परेका पत्रकारलाई रिहा गर्न निर्देशन दिएको बताइए पनि रास्वपाले सरकारसँग घटनाबारे औपचारिक जवाफ मागेको हो।


प्रतिक्रिया