काठमाण्डु-भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् ।
बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए पनि अझै पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार अन्य आठ वटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।
प्रहरीले सार्वजनिक गरेको विवरणमा असोज ११ गतेदेखि बन्द रहेको काभ्रेपलाञ्चोकको रोशीस्थित बीपी राजमार्गको चारसयवेसी खण्ड पूर्णरुपमा अवरुद्ध छ ।
यस्तै बीपी राजमार्गको भ्याकुरे, रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट, भोटेकोशीको रामेछाप–सिन्धुली–खुरकोट, भोटेकोशीको बाह्रविसे–तातोपानी सडक तथा बझाङको जयपृथ्वी राजमार्गको बालुवाटार खण्ड पूर्णरुपमा अवरुद्ध छ ।
गोदावरीको लेले–टिकाभैरब, तेह्रथुमको मध्यपहाडी लोकमार्गको तीनघरे, पाँथर फिदिमस्थित मेची राजमार्गको रमिते, भिमफेदीस्थित कान्ति लोकथप एकतर्फी रुपमा खुलाइएको छ ।
रोशीस्थित बीपी राजमार्गको कालढुङ्गा खण्ड, घुमाउने, हनुमानगढी केराघारी खण्ड र पृथ्वी राजमार्गको बेनीघाट कृष्णभीर खण्ड पनि एकतर्फी खुलाएर यातायात सञ्चालन गराइएको प्रहरीले जानकारी दिएको छ ।
क्षतिग्रस्त सडक बनाउँदै सेना
नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान थालेको छ ।
बाढीबाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न छ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए ।
बिपी राजमार्ग, अरनिको राजमार्ग, मध्यपहाडी लोकमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलगायत राजमार्ग तथा ग्रामीण सडक, दुई जिल्ला जोड्ने पक्की पुल निर्माण गरी यातायात सञ्चालन गर्न सेनाका प्राविधिकसहितका जनशक्ति खटिएका छन् ।
खुर्कोटस्थित सुनकोसी नदीमा बेलीब्रिज राख्ने तथा रोशी खोला करिडोरअन्तर्गत बिपी राजमार्गको ठाउँठाउँमा क्षतिग्रस्त सडकको विस्तृत अध्ययनका लागि सेनाका प्राविधिकले सडक विभागको टोलीलाई सहयोग पु¥याइरहेको सहायक रथी केसीले बताए ।
सेनाकै पहलमा कान्ति राजपथका पहिरो पन्छाएर सोमबार साँझदेखि यातायात सञ्चालनमा आइसकेको छ ।
प्रतिक्रिया