समता स्कुलका सञ्चालक सञ्जेल प्रहरी नियन्त्रणमा


काठमाडौँ— कर्मचारीले आत्महत्या गरेको विषयलाई लिएर प्रहरीले समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ।

समता अस्पताल बौद्धमा किलनरको रुपमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले सोमबार राति अस्पतालभित्र पासो लगाएर आत्महत्या गरेपछि उनका आफन्तले आन्दोलन थालेका थिए।

हाल सञ्जेल दम्पत्तीलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले सञ्जेललाई पक्राउ नगरिएको र आन्दोलनको स्थिति हेरेर शान्ति सुरक्षाको लागि वृत्तमा राखिएको तर्क गरे।

सञ्जेल दम्पतीलाई नियन्त्रणमा लिएपछि तामाङको शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

त्यस्तै समता अस्पतालमा कार्यरत ३ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिई तामाङको आत्महत्याबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement