संसद बैठक सुरू हुनासाथ प्रतिपक्षीको अवरोध, सभामुख र सरकारविरुद्ध नाराबाजी


काठमाडौं – प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारको संसद बैठक सुरू भए लगत्तै अवरोध गरेको छ। काँग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार मातहत राख्न माग गर्दे आज दोस्रो दिन पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको हो ।

 मंगलबार दिउँसो ३ बजेका लागि तय भएको बैठक सभामुख कृष्णबहादुर महराले सुरू गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू उभिएर विरोध जनाएका थिए। सभामुख महराले कांग्रेसका नेता प्रकाशमान सिंहलाई बोल्न समय दिएका थिए। उनले सरकारको निर्णय नसच्याएसम्म सदन चल्न नसक्ने अडान लिँदै कांग्रेसले आजको बैठक बेल घेराउ गरेको हाे।

बैठकमा बोल्दै कांग्रेस सांसद सिंहले गिरिजाप्रसाद कोइराला र शुशील कोइरालाका नामका अस्पताल केन्द्र सरकारमातहत चलाउने निर्णय नगर्दासम्म बैठक चल्न नदिने घोषणा गरे। सांसद सिंह बोले लगत्तै कांग्रेस सांसदहरु उठेर रोष्टम घेरेका थिए। त्यहि बेला सभामुख कृष्ण बहादुर महराले कांग्रेस सांसदले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकाले आसन ग्रहण गर्न आग्रह गरे पनि सांसदले सभामुखको आग्रहलाई बेवास्ता गरेका थिए।

त्यसक्रममा मर्यादापालक र कांग्रेस सांसदहरुबीच ठेलाठेल भएको थियो। सो क्रममा कांग्रेस सांसदहरुले बैठक चल्न नदिने अडानका साथ सरकार र सभामुखविरुद्ध नाराबाजीसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement