काठमाण्डु- बङ्गलादेशमा दुई दशकभन्दा लामो समयदेखिको प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि त्यहाँ राजनीतिक शून्यताको अवस्था उत्पन्न भएको छ । ७६ वर्षकी हसिना देश छाडेर भारत पुगेकी छन् । त्यसपछि त्यहाँको राजनीतिले नयाँ मोड लिएको छ ।
सेना प्रमुखले अन्तरिम सरकार गठन गरिने बताएका छन् । सोमबार साँझ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ गर्न आदेश दिएका छन् ।
राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई पनि रिहा गर्न निर्देशन दिइसकेका छन् ।
हसिनाले देश छाडे पछि हजारौंको संख्यामा सडकमा ओर्लिएका प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास ‘गणभवन’ नै कब्जा गरेका छन् । त्यहाँ रहेका बहुमूल्य सामान पनि बोकेर लगेका छन् । राजनीतिक शून्यतासँगै बङ्गलादेशमा हर्ष र उल्लास छ ।
सेन्टर फर पोलिसी डाइलगका वरिष्ठ अर्थशास्त्री देवप्रिया भट्टाचार्यले प्रधानमन्त्री हसिनाको राजीनामाले सडकमा हर्षोल्लास छाएको बताइन् । उनका अनुसार हसिनाको राजीनामासँगै बङ्गलादेशमा अल्पसंख्यक हिन्दूमाथि आक्रमण बढेको छ र नयाँ प्रशासनका लागि चुनौती बढेको छ ।
सोमबार अनियन्त्रित भिडले सरकारी कार्यालयहरूमा आक्रमण गर्नुका साथै आगजनी गरेको थियो । प्रदर्शनकारीहरूले हसिनाका पिता तथा स्वतन्त्र बङ्गलादेशका संस्थापक शेख मुजिबुर रहमानको सालिकमा पनि तोडफोडको प्रयास गरेका थिए ।
बङ्गलादेशमा हसिनाको पतन पछि त्यहाँको सत्ता कसको हातमा जाने अहिले तय भइसकेको छैन । यद्यपी विद्यार्थी आन्दोलनका संयोजकहरूले नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको प्रस्ताव गरेका छन् । विद्यार्थी आन्दोलनका प्रमुख संयोजक नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजुमदारले भिडियो सन्देश मार्फत युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउनु पर्ने बताएका हुन् ।
भारतलाई असर
पछिल्लो ५३ वर्षदेखि भारत र बङ्लादेशबीच द्विपक्षीय सम्बन्ध छ । गत वर्ष नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा भारतले बङ्गलादेशलाई विशेष अतिथिको रूपमा आमन्त्रण गरेको थियो ।
बङ्गलादेश भारतको एकमात्र यस्तो छिमेकी देश हो जसलाई भारतले जी–२० सम्मेलनमा विशेष महत्व दिएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री हसिना सबैभन्दा पहिला भारत पुगेकी थिएन् । तर अहिले हसिनाको पतन पछि भारतलाई अप्ठयारोमा परेको विश्लेषकहरूको भनाइ छ ।
बङ्गलादेशको राजनीतिमा बङ्गलादेश अवामी लिगकी शेख हसिना र बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की बेगम खालिदा जियाको खास प्रभाव रहँदै आएको छ ।
पछिल्लो १५ वर्षदेखि हसिनाको पार्टी अवामी लिग सत्तामा रहँदै आएको छ भने उनी लगातार प्रधानमन्त्री बन्दै आएकी छिन् ।
विदेश मामिलाका जानकारहरूका अनुसार बङ्गलादेशामा शेख हसिनाको सरकार रहोस् भन्ने भारतको चाहना छ । बङगलादेश नेशनलिस्ट पार्टीको झुकाव इस्लामिक कट्टरपन्थीहरू तर्फ छ । उसले पाकिस्तानको वकालत गर्दै आइरहेको छ ।
अर्को तर्फ हसिनाको पार्टी अवामी लिग उदारवाद, धर्मनिरपेक्षता, प्रजातान्त्रिक प्रक्रियाकमा विश्वास गर्छ । यसकारण भारतले अवामी लिगलाई महत्व दिदै आएको छ ।
भारतका विदेश मामिलाका जानकारहरूका अनुसार भारत स्थिर छिमेकी चाहन्छ । बङ्गलादेशमा भारतको पूर्वउच्चायुक्त वीना सीकरी भन्छिन्, ‘भारत सदैव बङ्गलादेशसहित आफ्ना सबै छिमेकमा स्थिरता रहोस् चाहन्छ । किनभने त्यहाँ लोकतन्त्र छ ।’
भारतको संस्थापन पक्षले बीएनपी पाकिस्तानको मात्र होइन चीन समर्थित छ र इस्लामिक राजनीतिको प्रवर्धन गर्ने विश्लेषण गरिरहेको छ । त्यसैले हसिनाको पतन पछि बङ्गलादेश भारतभन्दा पाकिस्तान र चीनचर्फ जाने हो कि चिन्ता भारतलाई भएको छ ।
‘शेख हसिनाले चीन र भारतबीच सन्तुलन बनाएकी थिइन् । तर अब उनको अभावमा सन्तुलनको शृङखला चुँडिएको छ’ सिकरी भन्छिन् ।
दक्षिण एशियामा बङ्गलादेश भारतको सबैभन्दा ठूलो व्यापार साझेदार राष्ट्र पनि हो । कोभिड–१९ को समयमा पनि दुबै देशबीच २०२०–२१ मा १०.७८ बिलियन अमेरिकी डलरको व्यापार भएको थियो । यस्तै २०२१–२२मा यो व्यापार ४४ प्रतिशतले बढेर १८.१४ बिलियन अमेरिकी डलरसम्म पुगेको थियो । यसैगरी २०२२–२३ मा भारत–बङ्गलादेशबीच कुल व्यापार १५.९३ बिलियन अमेरिकी डलर भएको छ ।
भारत र बङ्गलादेशले विद्युत र ऊर्जाको क्षेत्रमा ठूलो परियोजनामा पनि काम गर्दै आइरहेको छ । बङ्गलादेशमा अहिले ११६० मेगावाट विद्युत भारतबाटै आयात भइरहेको छ ।
यसका साथै ‘हाई स्पीड डिजल’ आपूर्ति गर्न पनि दुबै देशबीच मैत्री पाइपलाइनको चर्चा चलेको छ । भारतले पछिल्लोे एक दशकदेखि सडक, रेल्वे, बन्दरगाह आदिको निर्माणमा हजारौं रुपैयाँ लगानी गरेको छ ।
‘बङ्गलादेशको पछिल्लो राजनीतिक संकटले निश्चय पनि भारतसँगको व्यापारमा असर गर्छ । यस्तो अवस्थमा चीनले चटगांव बन्दरगाहलाई प्रयोगमा ल्याउन माग गर्न सक्छ’, राजनीतिक विश्लेषक कमर आगा भन्छन् ।
भारतको पूर्वी राज्य र बङ्गलादेश एकअर्कोसँग घेरिएका छन् । पूर्वी राज्यको विकास र कनेक्टिविटीका लागि पनि बङ्गलादेशको साथ भारतलाई जरूरी छ ।
हसिनाको सरकारले कनेक्टिविटीका लागि चटगांव बन्दरगाहको प्रयोग गर्न लाग्दा भारतले मनाही गरेको थियो ।
भारतसँग बङ्गलादेशको करिब चार हजार किलोमिटर सीमा छ । चीन र पाकिस्तानबाट हुने चुनौतीलाई मध्यनजर गर्दै भारतले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था पनि बलियो बनाएको छ ।
हसिना नेतृत्वको पूर्ववर्ती सरकारले उत्तर–पूर्वी भारतमा पृथकतावादीहरूलाई आश्रय दिन अहम भूमिका निर्वाह गरेको थियो । तर पूर्वोत्तर भारतमा हुने पृथकतावादी आन्दोलनलाई परास्त गर्न पनि हसिना सरकारले महत्वपूर्ण काम गरेको छ । जसबाट भारतलाई प्रत्यक्ष फाइदा पुगेको छ ।
पृथकतावादी आन्दोलनका शीर्ष नेताहरूलाई बङ्गलादेशले समातेर भारतलाई बुझाएको पनि छ । जसमा उल्फा नेता अरविन्द राजखोवासमेत छन् । यस्तो अवस्थामा हसिनाको अभावमा भारतलाई सहज स्थिति नरहेको जानकारहरू बताउँछन् ।
प्रतिक्रिया