अमेरिकाबाट अत्याधुनिक हतियार र रसियाबाट हेलिकोप्टर खरिद गर्ने सेनाको तयारी


काठमाण्डु- रसियाबाट दुई वटा हेलिकोप्टर ल्याउने तयारी गरिरहेको सेनाले यही बेला अमेरिकाबाट आधुनिक हतियार खरिद गर्ने भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार सेनाले करिव २ अर्व रुपैंया बराबरको हतियार अमेरिकाबाट खरिद गर्न लागेको हो ।

सेनाले आफुसंग भएको इन्सास राइफल र लाईट सपोर्ट वेपन (एल.एस. डब्लु) हतियार सशस्त्र प्रहरी र इन्सास, एसएमजी र एलएमजी नेपाल प्रहरीलाई हस्तान्तरण गरिरहेको छ ।

अर्थतन्त्र तहस नहस भएको बेला सेनाले ६ हजार थान एम–१६ र एम–४ हतियार र पेस्तोल किन्ने प्रक्रिया अघि बढाएको स्रोतको दावी छ । त्यसका लागि अर्थमन्त्रालयले बजेट समेत निकासा गरिसकेको छ । राष्ट्रिय सुरक्षालाई कारण देखाएर सेनाले यो खरिद प्रक्रियालाई अति गोप्य राखेको छ । यसअघि सेनाको हतियार खरिदमा समेत ठुलो कमिशनको खेल हुने गरेको थियो ।

संचारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र कार्कीका भाई लोकेन्द्र कार्कीले यसअघि पूर्णचन्द्र थापा प्रधानसेनापति हुंदा विचौलियाको काम गरेर दक्षिण कोरियाबाट एम १६ हाराहारिकै के टू राइफल ल्याएका थिए । अहिले पनि तिनै कार्कीलगायतले चलखेल गरिरहेको बुझिन आएको छ ।

सेनाले ९ हजार थान सशस्त्र प्रहरीलाई र १० हजार थान नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । त्यो मध्ये केही थान सेनाले औपचारिक कार्यक्रमको आयोजना गरेर नेपाल प्रहरीका आईजीपी शैलेश थापा र केही थान सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाललाई हस्तान्तरण समेत गरिसकेको छ ।

यता अमेरिका र रसियाको बीचमा लडाई कूटनीतिक लडाई परिरहेको र विश्व नै दुई ध्रुवमा बांडिएको बेला नेपाली सेनाले रुसको सरकारी कम्पनी रोजोबोरोनले निर्माण गरेको एम आई १७ हेलिकोप्टर खरिद गर्ने प्रक्रिया अघि बढाइएको छ । २ वर्षअघि खरिद गर्ने निर्णय भएर पनि सम्झौंता भइसकेको हेलिकोप्टरको पैसा भुक्तानीमा समस्या भएर बिचमा यो प्रक्रिया अवरुद्ध भएको थियो ।

सेनाले नेपालका लागि एम १७ हेलिकोप्टर नै आवश्यक भएको दावी गर्दै आएको छ । यसअघि पनि सेनाले उक्त कम्पनीले नै निर्माण गरेका हेलिकोप्टर खरिद गरेको थियो ।

उद्दार गर्न र भीभीआईपीका लागि समेत प्रयोग गर्न सकिने भएकाले सेनाले रुसबाट उक्त हेलिकोप्टर ल्याउन लागेको हो । त्यसका लागि रुसी टोली आज नेपाल भ्रमणमा आउंदैछ ।

उक्त टोलीले रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासंग भेटवार्ता समेत गर्दैछ । अमेरिकाले रुसमाथि नाकाबन्दी लगाएपछी बीचमा यो कम्पनीसंग सेनाले आवश्यक भएपनि हेलिकोप्टर खरिद गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
Advertisement