एकता घोषणाको सात महिना : निर्णायक चरणमा विलय र फुटको शंका


काठमाडौं- एमाले र माओवादी केन्द्रले एकता घोषणा गरेको सातमहिने शृंखला चलिरहँदा एकताको अन्तिम निर्णय एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णायक संवादमा अड्किएको छ । कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन ९ वैशाखमा गर्ने भनिएको एकताको अन्तिम घोषणा दुवै अध्यक्षको पछिल्ला नियमित संवाद शृंखलामै अड्किएको हो ।

चुनावी गठबन्धन र पार्टी एकताको निर्णयसहित गत १७ असोजमा भएको ६ बुँदे सहमतिको शृंखलाले सोमबार सात महिना पूरा गरे पनि संवाद शृंखलाबाट निष्कर्ष नआउँदा दुवै पार्टीका कार्यकर्तामा संशय बढेको छ । यद्यपि, संशयकै बीचमा एकता बढेकाले अप्रत्याशित एकताको अन्तिम निर्णय हुने दुवै पार्टीका नेताको दाबी छ ।

गठबन्धन र एकताको परिणाम–संघीय र प्रदेशमा गठबन्धनको दुईतिहाइ सिट उपस्थिति छ । आर्थिक समृद्धिको नारासहित गत ३ फागुनमा गठित एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अढाई महिना पूरा गरेको छ । नीति तथा कार्यक्रम र बजेटको तयारीमा सरकार रहे पनि एकता संवादबाट परिणाम नदेखिँदा संशय बढेको खबर अाजकाे नयाँपत्रिका दैनिकमा छ।

‘एकता नहुने स्थिति त छैन, तर एकतापछि माओवादी फुटेर जाला कि भन्ने एमालेको डर र विलय नै भइने हो कि भन्ने माओवादीको डरले ढिलाइ भइरहेको हो,’ वाम विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘दुवैमा डर हट्नेबित्तिकै एकता हुन्छ, तर ढिलाइ भए पनि दिगो एकताको उपाय खोजी गर्नु उपयुक्त हुन्छ ।’

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकीकृत पार्टीमा संख्या मिलाउने अन्तिम छलफलमा छन् । एकता महाधिवेशनसम्म सैद्धान्तिक–वैचारिक पक्षमा सहमति भए पनि समानता, न्यायोचित र सम्मानजक एकता हुने भन्दै दुवै नेताले संख्यात्मक हिस्सेदारीमा छलफल केन्द्रित गरेका छन् । तर, महाधिवेशनपछिको नेतृत्व र एकीकृत पार्टीको संख्यात्मक हिस्सेदारीमै कुरा नमिल्दा एकतामा ढिलाइ भइरहेको छ ।

‘एकता नहुने स्थिति त छैन, तर एकतापछि माओवादी फुटेर जाला कि भन्ने एमालेको डर र विलय नै भइने हो कि भन्ने माओवादीको डरले ढिलाइ भइरहेको हो,’ वाम विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘दुवैमा डर हट्नेबित्तिकै एकता हुन्छ, तर ढिलाइ भए पनि दिगो एकताको उपाय खोजी गर्नु उपयुक्त हुन्छ ।’

२० वैशाखमा अर्को संवाद
९ वैशाखयता पाँचपटक संवाद गरेका प्रधानमन्त्री ओली र प्रचण्डले २० गते अर्को निर्णायक छलफल गर्ने समझदारी गरेका छन् । एकीकृत पार्टीको संख्यासहित सबै विषय टुंगिएकाले २० गतेको छलफलले एकतामा छिटो र ढिलाइको तस्बिर आउने एक नेताको दाबी छ । ‘त्यस दिनको संवादपछि एकता संयोजन समितिको बैठकबाट एकता मितिका विषयमा आश्चर्यजनक निर्णय पनि हुन सक्छ, कुरा धेरै सकारात्मक छ’, ती नेताले भने, ‘तर कुनै परिणाम आएन भने कहिले होला, यसै भन्न सकिन्न।’

पार्टी एकता छलफल शृंखला

१७ असोज– ६ बुँदे सहमतिमार्फत चुनावी गठबन्धन र पार्टी एकताको निर्णय, एकता संयोजन समिति गठन

१८ असोज – चुनाव क्षेत्र सिट बाँडफाँड र घोषणापत्र मस्यौदा समिति गठन

२१ कात्तिक – वाम गठबन्धनको संयुक्त घोषणापत्र सार्वजअनिक

२ पुस – संयुक्त पत्रकार सम्मेलन–देउवालाई राजीनामाको आग्रह

२५ पुस – राष्ट्रिय सभा, प्रदेश सभा र प्रदेश सरकारका लागि कार्यदल

१८ माघ – सिट बाँडफाँडसम्बन्धी कार्यदलको प्रतिवेदन अनुमोदन

२ फागुन – एकता संयोजन बैठक– मूल नेतृत्वको टुंगो

३ फागुन – वाम गठबन्धनबाट केपी ओली प्रधानमन्त्रीमा नियुक्त

७ फागुन – आलोपालो अध्यक्षतासहित एकीकरणका लागि सात बुँदे सहमति

२२ चैत – कार्यदलको राजनीतिक र संगठनात्मक प्रतिवेदन संयोजन समितिमा पेस

९ वैशाख – कम्युनिस्ट पार्टी स्थापना दिवसमा संयुक्त कार्यक्रम

विश्वासका साथ भन्छु, महिना जाँदैन, हप्तामै एकता
विष्णु पौडेल, उपमहासचिव, एमाले
एकताका बारेमा शंका गर्ने कुनै ठाउँ छैन । सबै विषय टुंगो लागिसकेको छ । नेताहरू निष्कर्षमा पुगिसकेपछि पनि ल अब अगाडि जाऊँ भन्न मात्र बाँकी हो । त्यसैले एकतामा कुनै द्विविधा छैन । विगतमा पनि आशंकाकै बीचमा सहमति भएकाले आशंकासँगै सहमति पनि हुँदै गर्छ । विश्वासका साथ भन्छु, केही हप्ताभित्रै सबै टुंगिएर एकता हुन्छ ।

आपसी डर हट्नेबित्तिकै एकता
श्याम श्रेष्ठ, वाम विश्लेषक
एकता नहुने ठाउँ देखिन्न, तर केही कुरा उल्टापाल्टी परेर दुवै पक्षमा डर देखिँदा ढिलाइ भएको हो । कतै पार्टी पेलिएर विलय हुँदै एमालेमय हुने हो कि भन्ने माओवादीको डर । बराबरी हैसियत दिँदा ४० प्रतिशत पुर्‍याएर माओवादी फुटेर जाला कि भन्ने एमालेको डर । यी विषय ठीक ढंगले सम्बोधन हुनेबित्तिकै एकता हुन्छ । एमालेले माओवादीलाई महाधिवेशन मिलेरै हुन्छ, पेलेर लान्नौं भन्ने आश्वस्त गर्दा माओवादी ५०र५० को संख्यामा पक्कै अडिँदैन । फुटेर जान्नौँ भन्ने माओवादीले आश्वस्त तुल्याउँदा एमालेको शंका हट्छ । अविश्वास हटाएर दुवैले टिक्ने खालको एकता गर्ने उपाय खोज्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement