आज श्रीकृष्ण जन्माष्टमी,देशभर सार्वजनिक बिदा


काठमाण्डु – श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी मनाइँदै छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ ।

उता, श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भब्य धार्मिक कार्यक्रमको आयोजना गरेका हुन्छन ।

विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।

सो अवसरमा आज सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement