बलात्कारको आरोप लागेका सिद्धबाबालाई एम्बुलेन्सबाट अदालत लगियो


काठमाडौं – बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदासजी महाराजविरुद्ध अनुसन्धान अघि बढाउन शुक्रबार प्रहरीले दोस्रो पटक म्याद थप गर्न अदालतमा उपस्थित गराएको छ ।

सुनसरी जिल्ला अदालतबाट म्याद थप गर्न उपचाररत विराटनगरको विराट नर्सिङ होमबाट एम्बुलेन्समा राखेर कृष्णदासजीलाई लिएर प्रहरी अदालत गएको छ ।

आईसीयूबाट ह्वीलचेयरमा ल्याएर उनलाई एम्बुलेन्समा राखिएको थियो । कृष्णदासजीलाई लिनका लागि सुनसरी प्रहरीका प्रवक्ता डीएसपी विनोद शर्मा नेत्रृत्वको टोली विराटनगर आएको थियो । मंसिर १६ गते सोमबार उनीविरुद्ध अनुसन्धान गर्न अदालतबाट पहिलो पटक चार दिनको म्याद थप गरिएको थियो ।

पहिलो म्यादको समयसीमा सकिएपछि थप अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गर्न लैजानु परेको डीएसपी शर्माले बताए । सुनसरीको चतरा धामस्थित आफ्नो आश्रममा लगेर कात्तिक पहिलो साता बलात्कार गरेको भन्दै एक महिला अनुयायीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement