सोलुखुम्बुको हुंगा खोलामा पहिरो खस्दा फराकिलो ताल बन्यो

सोलुखुम्बुको हुंगा खोलामा पहिरो खस्दा फराकिलो ताल बन्यो

उच्च सतर्कता अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुंगा (हुङ्कु) खोलामा पहिरो खसेर करिब एक सय मिटरभन्दा फराकिलो ताल बनेको छ।

शुक्रबार बिहान निरन्तर पहिरो खस्दा ठूलो ताल बनेको हो ।

महाकुलुङ गाउँपालिका–२ र ४ नम्बर वडाको हुङ्गा खोलामा गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नं. २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको हो । पहिरो खसेपछि खोलामा करिब १०० मिटर लामो र करिब १५ मिटर अग्लो ड्याम बनेको छ ।

पहिरो खसेपछि हुंगा खोला र दूधकोशी नदीको तटीय क्षेत्र र आसपास बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सोलुखुम्बुका सहायक जिल्ला अधिकारी देवेन्द्र सुवेदीअनुसार उक्त ताल फुटे दूधकोशी नदीदेखि उदयपुर हुँदै सुनसरीसम्मका तटीय क्षेत्रमा जोखिम हुने छ।

प्रहरी टोलीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँबस्ती तथा उक्त खोलामा रहेका गौरीशंकर हाइड्रोपावरको पावर हाउस, दूधकोशी–२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुई वटा हाइड्रोपावरलाई घटनाबारे जानकारी गराई हाइड्रोपावरमा रहेका कामदार तथा सवारीसाधनलाई सुरक्षित स्थानतर्फ जान सूचित गरेको छ।

हुङ्गा खोलाको पानी महाकुलुङ गाउँपालिका–२ बोदेलमा थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दूधकोशी गाउँपालिका र नेचासल्यान गाउँपालिका हुँदै दूधकोशी नदीमा मिसिएर खोटाङ हुँदै ओखलढुंगातर्फ बग्ने गर्दछ।