शिक्षकहरूले आन्दोलन गरेर काम नै गरिरहेका हुन्, तलब छोड्दैनन् : अध्यक्ष सुवेदी

शिक्षकहरूले आन्दोलन गरेर काम नै गरिरहेका हुन्, तलब छोड्दैनन् : अध्यक्ष सुवेदी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अहिले अनावश्यक रूपमा शिक्षक विरोधी भाष्यहरू निर्माण भएको गुनासो गरेका छन् ।

बुधबार काठमाण्डुमा आयोजित शिक्षा बहस कार्यक्रममा बोल्दै उनले अहिले अनावश्यक रूपमा शिक्षक विरोधी भाष्यहरू निर्माण भएको भन्दै त्यसले शिक्षकको उत्साह अभिप्रेरणा पनि नजगाउने र विद्यालय शिक्षा पनि उभो नलाग्ने बताए ।

उनले भने, ‘अहिले अनावश्यक रूपमा शिक्षक विरोधी भाष्यहरू निर्माण भएको छ । त्यसले शिक्षकको उत्साह अभिप्रेरणा पनि जगाउँदैन र विद्यालय शिक्षालाई पनि उभो लाँदैन । त्यसैले त्यो कुरामा पनि सर्तक हुनुपर्छ । शिक्षकले सबै कुरा नियन्त्रणमा लिएर सम्पूर्ण दायित्व निर्वाह गर्न सक्दैन ।’

सामाजिक सञ्जालमा आन्दोलनमा सहभागी नहुने शिक्षकलाई महासंघले कारबाही गर्ने भन्ने हल्ला गलत रहेको उनले स्पष्ट पारे । पेशाकर्मीले दुनियाँमा कहीँकतै पनि आन्दोलन गर्दा तलब नछाड्ने चलन रहेको भन्दै आफूहरूले पनि तलब नछाड्ने बताए ।

उनले भने, ‘सामाजिक सञ्जालमा आन्दोलनमा सहभागी नहुने शिक्षकलाई महासंघले कारबाही गर्ने भनेर आएको छ । त्यो हामीले कतै लेखेको छैन । हाम्रो तर्फबाट नलेखिएको तर व्यक्ति कसैले लेख्नुभएको छ भने हामी जिम्मेवार छैनौं । हामीले तलब खाने हो । पेशाकर्मीले दुनियाँमा कहीँकतै पनि आन्दोलन गर्दा तलब छोड्दैनन् । हामी तलब छोड्दैनौं । हामी त काम नै गरिराखेका छौं । शिक्षा क्षेत्रको निर्माणका लागि आन्दोलनको काम गरिराखेको छैनौं ?’

समाजमा शिक्षकहरूको माग मुद्दाबारे कोही कसैले पनि नबोलिने कारण आफूहरू नै बोल्न बाध्य भएको उनले बताए । गुणस्तर शिक्षाको लागि शिक्षणयोग्य वातावरण चाहिने भन्दै यो वातावरण निर्माणको लडाइमा आफूहरू रहेको उनले बताए ।

उनले भने, ‘हाम्रो माग मुद्दामा सेवासुविधाको कुरा धेरै छन् । त्यसको बाध्यता के छ भने समाजमा हामीबाहेक हाम्रो माग मुद्दाबारे कोही बोलिदिँदैन् । त्यसो भएपछि हामीले नै हाम्रो माग मुद्दा बिर्सियौं भने समाजमा कसले उठाइदिने ? गुणस्तर शिक्षाको लागि शिक्षणयोग्य वातावरण चाहिन्छ । यदि शिक्षकबाट त्यो अपेक्षा गर्छौं भने त्यो वातावरण निर्माण गर्दिन सक्नुपर्छ । त्यो लडाइमा नै हामी छौं ।’