संसद पुनःस्थापना विना चुनाव गर्न खोजे रक्तपात हुन्छः सुजाता कोइराला


काठमाण्डु – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव गर्न खोजे रक्तपात हुने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताइन् ।

सभापति शेरबहादुर देउवा संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरिरहेको कोइरालाको टिप्पणी थियो । असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत बताइन् । उनले देउवाको पछिल्लो गतिविधिमाथि केन्द्रीय कमिटी बैठकमा कुरा उठ्ने समेत बताइन् ।

‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न?ओलीको किन पछि लागिरहनुभएको छ आश्चर्य लागेको छ,’ पूर्व उपप्रधानमन्त्री कोइरालाले भनिन्,‘रक्तपात हुनसक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ । तर, आफैले ल्याएको संविधान र संसदको विपक्षमा किन बोलिराख्नुभएको छ, त्यो गलत हो ।’ संसद पुनःस्थापना नगरी चुनावमा जान खोजेमा रक्तपात हुने खतरा औल्याइन् । देशमा अर्को रक्तपात ल्याउने अवस्था आइरहँदा देउवाले बारम्बार चुनावको कुरा गरेकोमा आपत्ती जनाइन् । उनले भनिन्,‘ चुनावमा रक्तपात हुन्छ । देउवाजी ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलानुहोस् ।’

संसद विना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुने खतरा औल्याइन् । उनले भनिन्, ‘संसद विना देशलाई अगाडि बढाउन खोजे यस्तो अवस्था आउँछ कल्पना पनि गर्न सक्नुहुन्न ।’ चुनावको विपक्षमा आफूहरु नभएको तर त्यसका लागि संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको बताइन् ।

सविधान पुनःस्थापना विना चुनाव हुननसक्ने र भएमा पनि रक्तपात हुने बताइन् । ३० वर्ष देखि देउवा बारम्बार प्रधानमन्त्री बन्दै आएको स्मरण गराउँदै भनिन्,‘ ३० वर्ष देखि देउवाजी प्रधानमन्त्री बन्दै आउनुभएको छ । फेरि फेरि तपाईं नै प्रधानमन्त्री बन्नुहोस् तर संसद पुनःस्थापना गर्नुहोस् ।’

संसदको बिघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भएपनि पुनःस्थापना गर्ने बताइन् । उनले काँग्रेस संसद पुनःस्थापनाको पक्षमा आन्दोलनमा गइसकेको बताइन् । संसद पुनःस्थापना विना काँग्रेस चुनावमा नजाने स्पष्ट पारिन् । उनले भनिन्,‘आन्दोलनमा गएर भएपनि संसद पुनःस्थापना गर्छौं ।’ आफूहरुले अदालतको फैसला पर्खिरहेको समेत कोइरालाले बताइन् ।

ओली सरकार कामचलाऊ भएकाले भारतसँग गम्भीर र संवेदनशील विषयमा कुनैपनि सम्झौता गर्न नसक्ने बताइन् । सीमाको विषयमा ओलीले भारतसँग कुरा गर्न नसक्ने बताइन् । उनले भनिन्,‘कामचलाऊ सरकारले सीमाका विषयमा वार्ता गर्न मिल्दैन । ओलीले एक्लैले भारतसँग वार्ता गरेको मान्य हुँदैन ।’ सहमति, सहकार्य र एकतालाई लत्याएर ओली बढेको आरोप लगाइन् । ओलीले संविधानलाई नै कुल्चेर देशलाई दुर्घटामा पु¥याएको कोइरालाको आरोप थियो ।

ओली रङ्ग बदलिरहने र विचार बदलिरहने प्रधानमन्त्री भएको टिप्पणी गर्दै विश्वास गर्न नसक्ने बताइन् । उनले भनिन्,‘ओलीजीलाई म विश्वास गर्न सक्दिनँ । अरुले पनि विश्वास गर्न छाडिसके ।’ओलीको बोलीमा नअलमलिने सबैलाई आग्रह गरे । ओलीमा मीठो भाषण गर्ने र गलत काम गर्ने कार्यशैली भएको बताइन् । उनले भनिन्,‘हिटलर पनि मीठो भाषण गर्थे, उनको भाषण सुनेर महिलाहरु रुन्थे तर उनले रक्तपात मच्चाए ।’

कम्युनिस्टहरुको झगडाले देश धरापमा परेको बताइन् । देशलाई संकटबाट जोगाउन ढिलो गर्न नहुने बताइन् । ओलीको क्रियाकलापविरुद्ध सबै राजनीतिक दल र शक्ति एक ठाउँमा उभिनुपर्नेमा उनको जोड थियो । संसद पुनःस्थापनामा सबै एकढिक्का हुनुको विकल्प नभएकोमा जोड दिइन् । विगतमा गिरिजाप्रसाद कोइरालाले अडान लिएर संसद पुनःस्थापना गरी संविधान र देशलाई सही ट्रयाकमा ल्याएको स्मरण गराइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement