सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान

सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम दिएको लिखित राजीनामा स्वीकृत गरिएको हो ।

मुख्यमन्त्री शाहले २०८३ साउन २५ गते साँझ ६:१० बजे प्रदेश प्रमुखसमक्ष राजीनामा दिएकोमा २०८३ साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

राजीनामा स्वीकृत भएपछि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दावी पेश गर्न आह्वान गरिएको छ ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री पदमा दावी पेश गर्न इच्छुक प्रदेशसभा सदस्यले २०८३ साउन २९ गते शुक्रबार बिहान ११ बजेभित्र प्रदेश प्रमुखसमक्ष दावी पेश गर्नुपर्नेछ ।

यसअघि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार गठनमा सहकार्य गर्दै नेकपालाई मुख्यमन्त्री दिने सहमति गरेका छन् ।