सम्पर्कविहीन तारा एयरको जहाज खोज्न आज बिहानैदेखि सुरक्षाकर्मीको टोली परिचालन


काठमाण्डु –  पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको सम्पर्कविहीन जहाज खोजीका लागि सोमबार बिहानैदेखि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेका थिए । आइतबार साँझसम्म सुरक्षाकर्मी र स्थानीयले जहाजको खोजी गरे पनि फेला पार्न सकेका छैनन् ।

जहाज भेटिएकोबारे विभिन्न समाचार प्रकाशित भएपनि आइतबार सांझसम्म तारा एयरको जहाज भेटिएको आधिकारीक पुष्टि कतैबाट भएको छैन । तर, तारा एयरको जहाज जोमसोम विमानस्थलभन्दा ६ किलोमिटर पर दुर्घटनामा परेको आशंका गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले ताराको जहाजको स्याटेलाइट इमेज प्राप्त गरेको स्रोतको दावी छ । जसमा उक्त जहाज ६ किलोमिटर पर ठोक्किएको देखाएको छ ।

जहाज खोज्न सेना,प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । त्यसका साथै सेनाको एम आई १७ र फिस्टेल एयरको हेलिकोप्टर समेत जोमसोममा तयारी अवस्थामा राखिएको छ । पोखराबाट एयर डाइनेस्टीको र कैलास एयरका दुई हेलिकोप्टर आज बिहान परिचान गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement