आठ वर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका


सिन्धुपाल्चोक – आठ वर्षपछि सर्वसाधारणका लागि तातोपानी नाका शुक्रबारदेखि खुला गरिएको छ ।

भोटेकोशी गाउँपालिका-२ बाट चीन जोड्ने नाकाबाट सीमा क्षेत्र भाेटेकाेशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै आज बिहान नाका खुला गरिएको हो ।

नाका खुला भएसँगै लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका स्थानीय बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरे। त्यसक्रममा सांसद माधव सापकोटा आफैं पनि मितेरी पुल तरेर चीनतर्फ प्रस्थान गरेका थिए।

सांसद सापकोटासहितको टोलिलाई चिनियाँहरुले भव्य स्वागत गरेका छन्। तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा  पुगेका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए ।

विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्प सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुनःबन्द भएको थियो ।

चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो ।

केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement