मुस्ताङको लोमान्थाङमा जिएसएम मोबाइल सेवा विस्तार


काठमाडौं – नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा सेवा विस्तार गरेको छ । टेलिकमले हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा जिएसएम मोबाइल सेवा विस्तार गरेको हो । नेपाल र चीन जोड्ने कोरला नाका नजिक टावर निर्माण गरेर जिएसएम मोबाइल सेवा सुरु गरिएको टेलिकम प्रवक्ता प्रतिभा बैद्यले बताइन । उनका अनुसार यस क्षेत्रमा यसअघि मोबाइल सेवाको पहुँच पुगेको थिएन ।

भौगोलिक विकटता र दुर्गमताका बाबजुद सीमानाका गाउँमा टावर स्थापना गरी मोबाइलको पहुँच पुर्याइएको पनि उनले बताइन । मोबाइल सेवा सुरु भएपछि यस क्षेत्रमा टुजी र थ्रीजी सेवा पुगेको टेलिकमले जनाएको छ ।

सेवा विस्तार भएपछि गर्थु, न्याम्दो, चुङजुङ र कोरला गाउँका १ सय ५० बढी घरधुरी लाभान्वित भएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण भेगमा दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार टेलिकमले सेवा विस्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement