गुण्डागर्दीविरुद्ध प्रहरी आक्रमकः टोले गुण्डा गौतममाथी किन हान्यो प्रहरीले गोली ?


काठमाडौं– प्रहरीले गुण्डागर्दी नियन्त्रणको लागी अभियान सुरु गरेको छ । उपत्यकामा गुण्डागर्दी बढेको गुनासो सर्वसाधरणले गरेपछि प्रहरीले गुण्डागर्दीविरुद्ध अभियान नै सुरु गरेको हो । शुक्रवार प्रहरीको अपराध महाशाखाले काठमाडौंको पेप्सीकोलामा एक टोले गुण्डालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।  

 

 

पेप्सीकोला क्षेत्रमा फिस्टे नामले चिनिने कुख्यात टोले गुण्डा रामेश्वर गौतमलाई  महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीको निर्देशनमा प्रहरीले  गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै २ राउण्ड गोली चलाएपछि प्रहरीको जवाफी कारवाहीमा फिस्टे घाईते भएको महाशाखाले जनाएको छ ।

 

 

फिस्टे पछिल्लो समय चक्रपथ क्षेत्रमा संगठित आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका चक्रे मिलन समूहका सक्रिय सदस्य रहेको प्रहरीको दाबी  छ ।  उनि पछिल्लो समय राजनीतिक आबरणमा भक्तपुर क्षेत्रमा गुण्डागर्दीमा सक्रिय थिए ।

 

 

गौतम अपहरण मुद्दामा ६ बर्ष कैख भुक्तान गरी रिहा भएका गुण्डा हुन । उनि भक्तपुरको सानोठिमी क्षेत्रमा प्रहरीकै मिलोमतोमा गुण्डागर्दी र असुली धन्दामा सक्रिय थिए । स्थानिय बासिन्दाले प्रहरीकै आडमा गौतमले गुण्डागर्दी गरेको गुनासो गरेपछि अपराध महाशाखाले चासो दिएको थियो । उनले पेस्तोल बोकेर हिड्ने गरेको उजुरी पनि प्रहरीकोमा पुगेको थियो ।

 

 

 

केही महिना पहिले भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजमा नेपाल बिद्यार्थी संघले गरेको एक कार्यक्रम बिथोल्न गुण्डाको जमात लिएर पुगेका फिस्टेले उल्टै बिद्यार्थीको कुटाई खाएका थिए । पछि तिनै गौतमले प्रहरी बोलाएर नेपाल विद्यार्थी संघका नेता र बिद्यार्थीलाई पक्राउ गर्न लगाएका थिए ।

 

 

आधा दर्जन मुद्दा खेपिरहेका फिस्टेलाई एक महिना अगाडि अपराध महाशाखाको गुण्डागर्दी हेर्ने ४ नम्बर पिलरले पेप्सीकोलाबाट पक्राउ गरी राम धुलाई गरेको थियो । महाशाखाले गुण्डागर्दी नगर्ने शर्तमा छोडेको फिस्टेको पुनः अनुसन्धान शुरु गरेको छ ।

 

६ महिना अगाडि धादिङमा गाडी तोडफोड गरेको अभियोग लागेका फिस्टेले अबैध हतियार समेत राख्ने गरेको सूचना महाशाखामा पुगिसकेको थियो । हतियार बोकेर हिड्ने फिस्टेसंग आज महाशाखाको टोलीको शुक्रवार दोहोरो भिड्न्त भएको हो ।

 

 

 

गौतमले एक जना स्थानीय बासिन्दाको खुटा समेत काटेको प्रहरी अनुसन्धानमा फेला परेपनि उनको डरले उजुरी समेत नगरेको प्रहरीको दाबी छ । उनलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने प्रहरीको तयारी छ । अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले कानुन हातमा लिएर गुण्डागर्दी गर्ने जो कोहीलाई पनि नछोड्ने बताए ।

 

उनले भने ‘गौतम एउटा नामुद गुण्डा हुन,हामीले उनलाई नियन्त्रणमा लिन खोज्दा उनले हाम्रो टोलीमाथी नै गोली चलाउन खोजेपछि उनलाई गोली हान्नु परेको हो ’

प्रतिक्रिया दिनुहोस
Advertisement