भिजिट भिसामा विदेश जान कडाइ, के–के चाहिन्छ कागजात ?


काठमाडौं – सरकारले पर्यटक भिसामा विदेश जानेहरूका लागि कडा नियम लागू गरेको छ । अब भिजिट भिसामा विदेश जानेहरुले अध्यागमन विभागले मागेअनुसारका कागजात देखाउनुपर्नेछ ।

गृहमन्त्री रामबहादुर थापा बादलको सक्रियतामा प्रस्थान अनुमति पाउनका लागि अनुमति दिन सरकारले समयसापेक्ष नियम अद्यावधिक गरेको अध्यागमन विभागले जनाएको छ ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार भिजिट भिसामा हुने विचौलियाको संलग्नता अन्त्यका लागि यसले मद्दत पुर्‍याउने विश्वास छ ।

अमेरिका, क्यानडा, युरोपियन मुलुक, अस्ट्रेलिया, जापान र दक्षिण कोरिया जानका लागि पासपोर्ट, भिसा, दुईतर्फी टिकट, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, स्पोन्सर लेटर तथा एक हजार अमेरिकी डलर र होटल बुकिङ देखाउनु पर्नेछ ।

विद्यार्थी भिसामा विदेश जानेहरूका लागि पासपोर्ट, भिसा, गन्तव्य मुलुकसम्मको बोर्डिङ पास, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्वविद्यालयको सहमति पत्र, बास खर्चको व्यवस्थापन खुल्ने कागजात देखाउनु पर्छ ।

यस्तै, तालिम तथा कार्यक्रममा विदेश जानेहरूले पासपोर्ट, भिसा, गन्तव्यस्थलसम्मको बोर्डिङ पास, दुईतर्फी टिकट, स्पोन्सर लेटरका साथै एक हजारसम्म अमेरिकी डलर, निमन्त्रणा पत्र र आयोजकको परिचय पत्र देखाउनु पर्ने भएको छ ।

कामदार भिसामा जानेहरूका लागि भने श्रम स्वीकृतिको म्याद कम्तीमा ९० दिन भएको हुनुपर्ने छ । तर, युरोपियन देशहरूको भिसा भएकाहरूको हकमा भने श्रम स्वीकृति आवश्यक पर्ने छैन । भारत जान पासपोर्ट वा नागरिकता र बोर्डिङ पासमात्रै देखाए पनि पुग्ने अध्यागमन विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement