काठमाण्डु- हामीले जिउ र हात पुछ्ने तौलिया धेरै पटक प्रयोग गर्छौं । तर तपाईंले प्रयोग गर्ने तौलियामा धेरै सूक्ष्म जीवहरू रहन्छन् त्यसलाई ध्यान दिदैनौं । बारम्बार प्रयोग भइरहने तौलिया धुन हामीले कति समय पर्खिनुपर्छ ?
तौलिया हेर्दा सानो जस्तो लाग्छ । तर तौलियाले निश्चित जोखिमहरू सिर्जना गर्न सक्छ र त्यसको सामना गर्न पनि सजिलो छ ।
सायद तपाईँले आजै पनि नुहाएपछि एउटा तौलियाले आफ्नो शरीर पुछिसक्नुभएको हुनसक्छ । तर तपाईँले आफ्नो जीउ सुकाउन प्रयोग गरेको तौलिया कतिको सफा थियो ?
तर एक सय मानिसमा गरिएको एउटा अध्ययनमा एक तिहाइ मानिसले महिनामा एक पटक मात्रै तौलिया धुने गरेको पाइएको छ । बेलायतमा गरिएको एउटा सर्वेक्षण अनुसार कोही–कोही मानिसले वर्षमा एक पटक मात्रै तौलिया धुने गरेको स्वीकारेका छन् ।
तौलियाका भूवाहरूमा मैलो भएको कुनै संकेत नदेखिन सक्छ तर तिनीहरू लाखौँ जीवाणुहरूको प्रजनन स्थल हुन् । अध्ययनले मान्छेको छालामा पाइने ब्याक्टेरियाबाट तौलिया चाँडै दूषित हुनसक्ने देखाएको छ ।
नुहाइसकेपछि पनि हाम्रो शरीर माइक्रोब्स अर्थात सूक्ष्म जीवाणुले ढाकेको हुन्छ र हामीले तौलियाले शरीर पुछ्दा ती जीवाणुहरू तौलियामा सर्छन् ।
तर हाम्रो तौलियामा हुने जीवाणुहरू अन्य स्रोतहरूबाट पनि आएका हुन्छन् । सुकाइरहेका बेला हावामा रहेका ब्याक्टेरिया र ढुसीहरू तौलियाको भूवामा आएर बस्न सक्छन् ।
केही ब्याक्टेरियाहरू हामीले तौलिया धुन प्रयोग गरेको पानीबाटै आएका हुन्छन् ।
जब हामी तौलियालाई शौचालयमै रहेको डन्डीमा सुक्नका लागि झुन्ड्याउँछौँ, त्यहाँ पनि प्रत्येक पटक कमोड फ्लश गर्दा त्यहाँबाट ब्याक्टेरियाहरू तौलियाका भुवामा जान्छन् । त्यसबाहेक परिवारका अन्य सदस्यले प्रयोग गर्दा पनि त्यसैगरी ब्याक्टेरिया तौलियामा गएको हुन्छ ।
समय बित्दै जाँदा यी सूक्ष्मजीवहरूले तौलियामा ‘बायोफिल्म’हरू बनाउन थाल्छन् जसले हाम्रा तौलियाहरू पनि फरक रङ्गको देखिन थाल्छन् ।
नियमित तौलिया धुने गर्दा पनि दुई महिनापछि तौलियामा रहेका ब्याक्टेरियाले तौलियाको रङ्ग फिक्का बनाइदिन्छ । तर घरमा लुगा धुने प्रचलनले पनि ब्याक्टेरिया कति हुने भन्ने निर्भर हुन्छ ।
तौलिया धुने विषय मामूली जस्तो लाग्न सक्छ तर जीवविज्ञानकी प्राध्यापक तथा अमेरिकाको बोस्टनस्थित सिमन्स विश्व विद्यालयको घर र समुदायमा स्वच्छता केन्द्रकी सह–निर्देशक रहेकी एलिजाबेथ स्कट तौलियाबाट घरमा कसरी जीवाणुहरू फैलिन्छ भन्ने विषयमा चासो राख्छिन् ।
‘स्वाभाविक रूपमै जीवाणुहरू तौलिया वरिपरि बसिरहेका होइनन’, उनी भन्छिन् ।
वास्तवमा हाम्रो छालामा अन्य धेरै भाइरस र ढुसीसँगै १,००० विभिन्न प्रजातिका ब्याक्टेरियाहरू हुन्छन् ।
तर ती धेरैजसो हाम्रा लागि वास्तवमा राम्रा छन् । हामीलाई अन्य कम अनुकूल ब्याक्टेरियाहरूबाट हुने सङ्क्रमणहरूबाट जोगाउन मद्दत गर्दछन् । हामीले दैनिक जीवनमा सामना गर्ने केही रसायनहरूलाई तोड्न र हाम्रो प्रतिरक्षा प्रणालीको विकासमा ती व्याक्टेरियाहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् ।
तौलियामा भेटिने धेरै ब्याक्टेरियाहरू हामीले हाम्रो छालामा भेट्टाउने उस्तै प्रजातिहरू हुन्, तर ती हाम्रो वातावरणमा पनि सामान्य रूपमा भेटिन्छन् । यसमा स्टाफलककश ब्याक्टेरिया र यासरिका कोलाइ प्रजातिहरू समावेश छन् । जुन सामान्यतया मान्छेको पेटमा भेटिन्छ । तर साल्मोनेला र शिगेला ब्याक्टेरिया पनि छन् जसले खानेकुराबाट सर्ने रोग निम्त्याउँछ र पखाला पनि लाग्छ ।
सङ्क्रमणविरुद्ध हाम्रो छालाले नै एउटा प्राकृतिक बाधकका रूपमा भूमिका खेल्छ । ब्याक्टेरिया र अन्य रोग निम्त्याउने किटाणुहरूका लागि यो हाम्रो पहिलो प्रतिरक्षा हो । त्यसैले तौलियाबाट ब्याक्टेरिया हाम्रो छालामा सर्नेबारे हामीले त्यति धेरै चिन्ता लिनुपर्दैन ।
तर छालालाई धोइपखाली गर्ने र तौलिया पुछ्ने गर्दा त्यसबाट सङ्क्रमण रोक्ने जुन छालाको प्राकृतिक भूमिका हुन्छ त्यो बिथोलिन सक्छ ।
सायद सबैभन्दा ठूलो समस्या तब हुन्छ जब हामीले आफ्नो मुख, नाक र आँखा छुनुअघि तौलियाले हात पुछ्ने गर्छौँ त्यो बेला सम्भावित हानिकारक जीवाणुहरू त्यसमा सर्न सक्छन् ।
यसको मतलब हामीले हात पुछ्न प्रयोग गर्ने तौलियाहरूलाई सायद बढी ध्यान दिन आवश्यक छ । भान्सामा प्रयोग हुने तौलिया पनि रोग फैलाउने अर्को स्रोत हो ।
स्वास्थ्य अधिकारीहरूले सङ्क्रमित व्यक्तिहरूको तौलिया प्रयोग नगर्न सिफारिस गर्छन् । अनुसन्धानले ह्युमन प्यापिलोमाभाइरस पनि तौलियाका माध्यमबाट अन्य व्यक्तिमा सर्नसक्ने देखाएको छ ।
पुनः प्रयोग गरिने हाते रुमालहरूबाट सङ्क्रमण सर्न सक्ने जोखिमका कारण अस्पताल र सार्वजनिक शौचालयहरूले कागजका रुमालहरू वा हावाबाट हात सुकाउने व्यवस्था गर्न थालेका छन् । तर यी मध्य कुन चाहिँ उत्तम विकल्प हो भन्ने विषय अनिर्णित नै रहेको छ ।
जति लामो समयसम्म हामी तौलिया प्रयोग गर्छौँ र जति लामो समय प्रयोग गरेको तौलिया चिसै छोड्छौँ हानिकारक जीवाणु वृद्धि हुनका लागि त्यो वातावरण त्यति नै उपयुक्त हुन्छ ।
नियमित तौलिया धुने बानी गर्दा त्यसले ब्याक्टेरियाको सङ्क्रमणलाई कम गर्छ ।
तौलिया कति पटक धुनुपर्छ ?
हप्तामा एक पटक तौलिया धुने सुझाव चिकित्सकहरूको छ । धुने नियमको धेरै अर्थ रहँदैन किनभने कोही मानिस बिरामी छ भने उसलाई बान्ता हुने र पखाला लाग्ने गरेको हुन सक्छ । त्यस्तो अवस्थामा उनीहरूको लागि आफ्नै अलग्गै तौलिया हुनुपर्छ र त्यस्तो तौलिया दिनदिनै धुनुपर्छ ।
भारतमा गरिएको एउटा अध्ययनले सहभागीहरू मध्ये २० प्रतिशत मानिसहरूले आफ्नो तौलिया हप्तामा दुई पटकसम्म धुने गरेको पत्ता लगाएको छ ।
तौलियाले निम्त्याउने जोखिम
तौलियालाई धेरै तातो (४०–६०सी, १०४–१४०एफ) र प्रायः एन्टिमाइक्रोबियल डिटर्जेन्टहरू थपेर अन्य घरेलु कपडाहरू भन्दा लामो समय धुन आवश्यक पर्दछ ।
डिटर्जेन्टहरूले ब्याक्टेरियालाई कपडामा टाँसिन नदिन र केही भाइरसहरूलाई निष्क्रिय पार्न मद्दत गर्न सक्छन् ।
कम तापक्रममा तौलिया धुँदा पानीमा इन्जाइमहरू थप्दा वा ब्लीच गर्दा तौलियामा भएका सूक्ष्मजीवहरूसँग लड्न मद्दत पुग्न सक्छ ।
भारतमा भएको एउटा अध्ययनले डिटर्जेन्ट र कीटाणुनाशक मिलाएर धोएको तौलियालाई निचोरेर घाममा सुकाउँदा ब्याक्टेरिया र ढुसी कम गर्न सबैभन्दा प्रभावकारी भएको पाइएको छ ।
प्रतिक्रिया