जब पत्रकारले ह्वाइटहाउसमै ट्रम्पलाई भने, ‘राष्ट्रपति महोदय, हार्दाको अनुभव कस्तो हुँदो रहेछ ?’

जब पत्रकारले ह्वाइटहाउसमै ट्रम्पलाई भने, ‘राष्ट्रपति महोदय, हार्दाको अनुभव कस्तो हुँदो रहेछ ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमै १ जना पत्रकारले व्यंग्य गरेका छन् ।

ती पत्रकारले सार्वजनिक रूपमै ‘पराजित हुँदाको अनुभव कस्तो छ ?’ भन्दै प्रश्न गरेका हुन् ।

स्काई न्युजका अमेरिकी संवाददाता डोमिनिक वाघर्नले ट्रम्प ह्वाइट हाउसबाट मरीन वन हेलिकप्टरतर्फ जाँदै गर्दा चर्को स्वरमा यस्तो प्रश्न गरेका हुन् ।

ह्वाइट हाउस परिसरमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी सकेर ट्रम्प फर्किन लागेका बेला वाघर्नले पछाडिबाट प्रश्न गरे, ‘राष्ट्रपति महोदय, पराजित हुँदाको अनुभव कस्तो छ ?’

तर ट्रम्पले ती पत्रकारको प्रश्नको जवाफ दिएनन् । उनी पछाडि नफर्की मरीन वनतर्फ अघि बढिरहे ।

घटनापछि वाघर्नले सामाजिक सञ्जाल एक्समा पनि यसबारे टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘मरीन वनतर्फ जाँदै गर्दा राष्ट्रपति ट्रम्प फर्किनुभयो । त्यहीँ बेला मैले उहाँलाई पराजित हुँदाको अनुभव कस्तो हुन्छ भनेर सोधेँ । उहाँले प्रश्न सुने पनि जवाफ नदिने निर्णय गर्नुभयो ।’

यो प्रश्न अमेरिकी राजनीतिमा हालैको चुनावी परिणाम र त्यसले ट्रम्पको नेतृत्वमा पारेको प्रभावसँग जोडिएको छ ।

चुनावी धक्कापछि दबाबमा ट्रम्प

अमेरिकामा ३ नोभेम्बरमा सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत गुमाएको छ ।

निर्वाचनको प्रारम्भिक तथा अद्यावधिक परिणामअनुसार डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा २५४ सिट जितेको छ भने रिपब्लिकन पार्टी १६२ सिटमा सीमित भएको छ। कुल ४३५ सदस्यीय प्रतिनिधिसभाका ४१६ सिटको परिणाम सार्वजनिक हुँदा डेमोक्रेटहरूले ४२ सिट थपेका छन्।

त्यस्तै सिनेटमा पनि डेमोक्रेटहरूले आफ्नो पकड विस्तार गरेका छन्। १०० सदस्यीय सिनेटमा डेमोक्रेटिक पक्षले २ स्वतन्त्र सांसदसहित ५४ सिट पुर्‍याउँदा रिपब्लिकनहरू ४४ सिटमा झरेका छन् ।

सिनेटका ३५ सिटका लागि निर्वाचन भएको थियो, जसमध्ये ३३ को परिणाम सार्वजनिक भइसकेको थियो । यो निर्वाचनलाई ट्रम्प प्रशासनको २ वर्षे कार्यकालप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको थियो ।  

विशेषगरी महँगी, जीवनयापनको बढ्दो लागत, आप्रवासन नीति र सरकारको कार्यशैलीप्रति मतदाताको असन्तुष्टि चुनावी परिणाममा प्रतिबिम्बित भएको विश्लेषण गरिएको छ ।

एसोसिएटेड प्रेस (एपी) को चुनावपछिको विश्लेषणअनुसार करिब ६० प्रतिशत मतदाताले ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका थिए । अर्कोतर्फ फ्लोरिडा, टेक्सास लगायतका राज्यमा समेत डेमोक्रेटिक उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् ।

यस निर्वाचनमा मतदाता सहभागिता पनि उल्लेखनीय थियो । युनिभर्सिटी अफ फ्लोरिडाको प्रारम्भिक तथ्यांकअनुसार मतदानयोग्य अमेरिकी नागरिकमध्ये करिब ४९ प्रतिशतले मतदान गरेका छन् ।

यो एक शताब्दीभन्दा लामो अवधिमा दोस्रो उच्च मध्यावधि निर्वाचन सहभागिता हो । सन् २०१८ मा मात्रै योभन्दा बढी सहभागिता देखिएको थियो ।

अमेरिकामा मध्यावधि निर्वाचन राष्ट्रपतीय निर्वाचन भएको २ वर्षपछि हुने गर्छ । यसमा राष्ट्रपति चयन गरिँदैन, तर संसद्का दुवै सदन र विभिन्न राज्यका गभर्नर चयन गरिन्छन् ।  

राष्ट्रपतिको पार्टीले मध्यावधि निर्वाचनमा बहुमत गुमाउँदा बाँकी कार्यकालमा विधेयक पारित गर्न र आफ्नो राजनीतिक एजेन्डा अघि बढाउन कठिनाइ हुन सक्छ ।

यसपटक डेमोक्रेटहरूले दुवै सदनमा बहुमत हासिल गरेपछि ट्रम्प प्रशासनले आगामी २ वर्ष संसद्मा बलियो प्रतिपक्षको सामना गर्नुपर्ने भएको छ ।