अमेरिकी सेनाको इण्डो प्यासेफिक कमाण्डले गरेको ल्याण्ड पावर सम्मेलनमा सेनाका रथी शर्मा सहभागी


काठमाडौं- अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डले आयोजना गरेको पहिलो इण्डो प्यासेफिक ल्याण्ड पावर सम्मेलनमा नेपाली सेना समेत सहभागी भएको छ । सम्मेलनमा नेपाली सेनासहित विश्वका २३ देशका उच्च सैनिक अधिकारी सहभागी भएको अमेरिकी सेनाले जनाएको छ । सम्मेलनमा नेपाली सेनाका तर्फबाट बलाध्यक्षरथी प्रभुराम शर्माले सहभागिता जनाएका थिए । यसअघि अमेरिकाको हवाईमा भएको सम्मेलनमा सेनाको तर्फबाट बलाधिकृतरथी शरद गिरीले सहभागीता जनाएका थिए ।

अमेरिकाले प्रत्येक वर्ष इण्डो प्यासेफिक क्षेत्रका थल सेनाका प्रमुखहरुको सम्मेलन आयोजना गर्दै आएको छ । यसपटक भने भिडियो कन्फेन्र्समार्फत सम्मेलन आयोजना भएको हो । जसमा विभिन्न देशका सेना प्रमुख र प्रतिनिधीहरुले आ-आफ्नो देशको सुरक्षा अवस्था र कोरोना भाइरसको समस्याबारे धारणा राखेका थिए ।

नेपाली सेनाका रथी शर्माले कोरोना भाइरसको महामारीविरुद्धको लडाई सवै मुलुकहरुले मिलेर सामना गर्नुपर्ने बताएका थिए । उनले नेपाली सेनाले जनताको स्वास्थ्य सुरक्षाको लागी अहोरात्र काम गरिरहेको र सरकारको योजनालाई कार्यान्वयन गरिरहेको बताएको जनाइएको छ । शर्माले सीसीएमसीको बारेमा समेत सम्मेलनमा चर्चा गरेको बुझिएको छ ।

भिडियो कन्फेन्र्समार्फत भएको दुई दिने सम्मेलनको प्रमुख वक्ताहरुमा युएस इण्डो प्यासेफिक कमाण्डका कमाण्डर एडमिरल फिल एस डेभिडसन र अमेरिकी सेनाका चीफ अफ जनरल स्टाफ जनरल जेम्स सी म्याककनमिल थिए । सम्मेलनमा डेभिसनले पुरै क्षेत्रमा अमेरिकाको संयुक्त बलको वर्तमान प्राथमिकतावारे प्रष्ट पारेका थिए । उनले जनताको सुरक्षा र सरकारको योजनालाई कार्यान्वयन गर्ने, कोभिड -१९ को महामारीलाई रोक्न र देशको रक्षाको लागी आफुहरु तयारी अवस्थामा रहेको बताएका थिए । डेभिडसनले सैनिक अभ्यास स्थगित भएपनि वैकल्पिक उपायको लागी पहल भइरहेको जानकारी दिए । त्यसका साथै सेनाको अंतर क्षमता वृद्धिको लागी सहयोगलाई बढाउने वारेमा समेत उनले चर्चा गरेका थिए ।

अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल पल जे लेक्यामेराले अमेरिकी सरकारको खुला र स्वतन्त्र इण्डोप्यासिफिक रणनीतिले यो क्षेत्रका सबै राष्ट्रहरुको हित हुने दावी गरे । त्यसका साथै उनले उक्त रणनीतिका सवै मुलुकको सार्वभौमसत्ताको सम्मान, उन्नति र सुरक्षालाई मजबुत बनाउने अवधारणा रहेको बताएका थिए।

सम्मेलनमा नेपाल,भारत, अष्ट्रेलिया, बंगलादेश, क्याम्बोडिया, क्यानडा, फिजी, इन्डोनेसिया, जापान, लाओस, मलेसिया, मंगोलिया, न्यु क्यालिडोनिया, न्यूजिल्याण्ड, पपुवा न्युगिनिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड, तिमोर लेस्ते, टोंगा र बेलायतको सहभागिता थियो ।

अधिकांश देशका सेना प्रमुखहरुको उपस्थिती रहेको भर्चुअल सम्मेलनमा इण्डो प्यासिफिक क्षेत्रको क्षेत्रीय सुरक्षा चासोको प्रतिप्पर्धासंगै सन्तुलन, आगामी दशकका लागि स्वतन्त्र र खुला इण्डो प्यासिफिक, कोरियाली प्रायाद्वीपको समस्या र कोभिड -१९ को महामारीबारे छलफल भएको थियो । सम्मेलनमा कोरोना भाइरसको माहामारीपछि इण्डो प्यासिफिक क्षेत्रको साझेदारी अझ मजवूत बनाउने विषयमा सहमति भएको अमेरिकी सेनाको प्यासेफिक पब्लिक अफयेर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement