काठमाण्डु – नेकपा एमाले दाङले वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ ।
बुधबार पार्टी कार्यालय घोराहीमा बसेको जिल्ला कमिटी बैठकले एमालेबाट निर्वाचित घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष शाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित गर्ने निर्णय गरेको जिल्ला प्रचार विभागका प्रमुख संगीत बस्यालले जानकारी दिए ।
सामाजिक सञ्जालमा ३ महिना पहिले पार्टीका नीति विपरीत मनपरी लेखेको भन्दै जिल्ला कमिटीले वडाध्यक्ष शाहलाई स्पष्टीकरण सोधेको थियो । त्यसअघि उनले पार्टी त्यागेर स्वतन्त्र भएको घोषणा गरेका थिए । वडाध्यक्ष शाहले स्पष्टीकरण नदिएपछि निष्कासन गरिएको छ ।
‘जिल्ला पार्टीले स्पष्टीकरण सोध्दा शाहले वास्ता गरेनन् र फोनमा पनि आफैं मिलाएर लेख्नु भन्ने गैरजिम्मेवार जवाफ दिएका थिए,’ बस्यालले भने, ‘मलाई पार्टीले कारवाही गरे गरोस् म आफैंलाई पार्टीमा बस्न मन छैन भन्ने किसिमको अनुशासन विपरीत कुरा गर्दै आएको हुँदा निष्कासित गर्ने निर्णय पार्टीले गरेको छ ।’
२०७९ सालको निर्वाचनमा एमालेबाट निर्वाचित शाहले वडाध्यक्षबाट राजीनामा दिने लगायत कुरा सामाजिक सञ्जालमा लेख्दै आएका थिए ।
प्रतिक्रिया