अनुपातमा अल्झियो , एमाले–माओवादी एकता


काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता केही समय पछि धकेलिने अवस्थामा पुगेको छ । एकताको खाका तय गर्न गठित दुई कार्यदलले प्रतिवेदन बुझाए पनि एकताको आवश्यक तयारी नहुँदा दुई दलबीच केही विषय अझै मिलाउन बाँकी रहेकाले ९ वैशाखमा एकता घोषणा कठिन देखिएको हो ।

गत ७ फागुनमा एकता संयोजन समितिको बैठकले गठन गरेको दुई कार्यदलमध्ये संगठन तथा विधान मस्यौदा कार्यदलले एकीकृत पार्टीका कमिटीको संख्या, चुनाव चिह्न र जनयुद्ध विषयमा सहमति जुटाउन बाँकी राखेको थियो । कार्यदलले प्रतिवेदन बुझाएको १२ दिनसम्म विवादित विषयले गति लिन सकेको छैन ।

नेकपा माओवादी केन्द्रले एकताका क्रममा सम्मानजनक एकता हुनुपर्ने भन्दै ५०/५० को अनुपातमा पार्टी कमिटीहरूको एकता हुनुपर्ने अडान राख्दै आएको खबर अाजकाे राजधानी दैनिकमा टेनिस रोकाले याे खबर लेखेका छन् । एमाले नेता सुभाष नेम्वाङ भने एकताको विषयमा कुनै समस्या नभएको र ९ वैशाखमा नै एकता घोषणा हुने बताउँछन् । तर, माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र पौडेल कतिपय विषयमा अझै छलफल आवश्यक देखिएकाले ९ गते एकता अलिक असम्भव जस्तो देखिएको बताउँछन् ।

‘९ गते नै एकता अलिक सम्भव नहोला जस्तो भयो, सम्मानजनक एकताको विषय निकै उठेको छ, दुवैतिरका कमिटीबीच सम्मानजनक एकता हुनुपर्दछ, यसका लागि छलफल अझै आवश्यक देखिन्छ,’ नेता पौडेलले भने ।

९ वैशाखमै एकता घोषणा हुन्छ, अब दुई अध्यक्षबीच मात्र वार्ता हुन्छ, त्यसपछि संयोजन समितिको बैठकले सबै कुरा टुंग्याउँछ । – सुवास नेम्वाङ, एमाले नेता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका आन्तरिक बैठकहरूमा ५०÷५० को अनुपातमा एकता हुनुपर्ने पार्टीको बटमलाइन रहेको बताउँदै आएका छन् । अध्यक्ष दाहालले आइतबार पार्टीका सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)का प्रतिनिधिसँग पनि सोही कुरो दोहो¥याएका छन् । दुवै दलका उच्च तहका नेताका अनुसार पार्टी एकताका क्रममा कुन दलको कति प्रतिशतको दरले एकता हुने भन्ने विषय मुख्य विषय बनेको छ ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६०ः४० को रेसियोमा उम्मेदवार बाँडफाँट गरेका दुई दलले राष्ट्रिय सभामा ७०ः३० को अनुपातमा उम्मेदवारी भागबन्डा गरेका थिए । दुई दलले पुनः सरकार गठनका क्रममा भने करिब ६०ः४० कै अनुपातमा भागबन्डा गरेका थिए । पार्टी एकताको क्रममा भने माओवादी केन्द्रले ५०ः५० कै अनुपातमा एकता हुनुपर्ने बटमलाइन पेस गरेको छ ।

गते नै एकता अलिक सम्भव नहोला जस्तो भयो, सम्मानजनक एकताको विषय निकै उठेको छ । सम्मानजनक एकता हुनुपर्छ त्यसैले छलफल अझै आवश्यक देखिन्छ । – देवेन्द्र पौडेल, माओवादी नेता

दुई दलबीच नेताहरूको व्यवस्थापन, पार्टी कमिटी समायोजनमा रेसियो प्रतिशत आधार, चुनाव चिह्न, जनयुद्धलगायतका विषयमा सहमति जुटाउन बाँकी रहेकाले ९ वैशाख अर्थात् २२ अप्रिल अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट दिवसका दिन एकता घोषणा भने कठिन देखिएको हो । यद्यपि, एमाले नेता नेम्वाङ भने दुई अध्यक्षबीच वार्ता भएपछि मात्र सहमति हुन बाँकी विषय मिल्ने र लगत्तै पार्टी एकता संयोजन समितिको बैठक बसेर सहमति हुने भन्दै ९ वैशाखमै एकता हुने दाबी गर्छन् । ‘प्रतिवेदन बुझाएपछि संयोजन समितिको बैठकले ९ वैशाखमा एकता गर्ने निर्णय ग¥यो । त्यसपछि प्रधानमन्त्री भारत भ्रमण जानुभयो ।

भ्रमणपछि बैठक बस्ने भनिएको थियो । दाहाल बिरामी पर्नुभयो । त्यसपछि पुनः प्रधानमन्त्री कर्णाली प्रदेशको भ्रमणमा निस्कनुभयो,’ उनले राजधानीसँग भने, ‘ ९ वैशाखमै एकता घोषणा हुन्छ, दाहाल र अध्यक्ष ओलीबीच वान टु वान वार्ता हुन्छ, त्यसपछि संयोजन समितिको बैठकले सबै कुरा टुंग्याउँछ ।’

कार्यदलले प्रतिवेदन बुझाएसँगै विवादित विषय टुंग्याउने जिम्मा पनि दुई अध्यक्षमा पुगेको छ । दोस्रो तहका नेतासमेत शीर्ष नेताले कहिले सहमति जुटाउँछन् भनेर कुरेर बसेका छन् ।

गत २० चैतमा दुवै कार्यदलले प्रतिवेदन बुझाएका थिए । २२ चैतमा समितिको बैठक बसे पनि ठोस निर्णय हुन सकेन । २७ चैतमा बैठक बस्ने तयारी गरिए पनि २८ गतेका लागि सारिएको थियो । २८ गते अध्यक्ष दाहाल अस्वस्थ रहेको भन्दै बैठक बस्न सकेन । लगत्तै प्रधानमन्त्री ओली कर्णाली प्रदेशतर्फ लागे भने आइतबार समितिको बैठक बस्ने तयारी गरिए पनि दाहाल उपत्यका बाहिर गएपछि बस्न सकेन ।

प्रतिक्रिया दिनुहोस
Advertisement