एमालेको प्रदेश बैठक जारी


धनगढी – नेकपा एमालेको सात नम्बर प्रदेश स्तरिय संगठन कमिटीको बैठक दुई दिनदेखि जारी रहेको छ ।  एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीका अनुसार बैठकमा हालै भएको प्रतिनीधि सभा र प्रदेशसभा निर्बाचनको समिक्षा भइरहेको छ ।

बैठकमा पार्टी एकिकरण र अव संगठन परिचालन सम्बन्धमा पनि छलफल भएको छ । यस्तै गरेर निर्बा्चित जनप्रतिनीधिबाट लिइने लेबी बारे पनि छलफल भइरहेको कार्यालय सचिव सुवेदीले बताए । कतिपय जनप्रतिनीधिले पार्टीसंग समन्वय नगरेर काम कार्वाही गरेको बारे बैठकमा गम्भीर चर्चा भएको एमाले स्रोतको भनाइ छ ।

तर सचिव सुवेदीले हार्दिकताका साथ भइरहेको बैठकमा केही ठाउँमा स्थानीय पार्टी र जनप्रतिनीधिका बीचमा समन्वय नभएकोले चाडै प्रशिक्षण कार्यक्रम आयोजना गरेर समस्या समाधान गर्र्ने सम्भावना रहेको जानकारी दिए । कतिपय विषयमा जिल्ला अध्यक्षहरुले लिखित प्रतिवेदन बैठकमा पेश गरेको बताइएको छ ।

बैठक एमालेका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक भीमबहादुर रावलको अध्यक्षतामा भइरहेको छ । रावलले सो अवसरमा मुलुकको समसायिक राजनीतिक अवस्था बारे जानकारी दिएका छन । बैठकमा बैकल्पिक पोलिटव्यूरो सदस्य तथा प्रदेशका सहसंयोजक कर्णबहादुर थापा, सात नम्बर प्रदेशबाट प्रतिनीधित्व गर्ने केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहकार परिषदका सदस्यहरु र नौ वटै जिल्ला अध्यक्षहरुको सहभागिता रहेको छ ।

हरेक विषयमा मसिनो ढंगले छलफल भइरहेकोले बैठकमा उठेका विषयमा आइतबार निर्णय हुने सम्भावना रहेको बताइन्छ । आगामी बैशाख ९ गते एमाले र माओबादीबीच पार्टी एकिकरण हुने भएकोले एमालेका नाममा हुने यो अन्तिम बैठक हुन सक्ने अनुमान पनि गरिएको छ । त्यसैले पनि बैठक विगतका तुलनामा अझ मसिनो ढंगले सञ्चालन भइरहेको सचिव सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement