काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौँ प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले नाकामा विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन् । उपत्यका बाहिरबाट लुकिछिपी उपत्यका छिर्न थालेपछि ती नगरपालिकाले नाकामा विशेष सुरक्षा सतर्कता अपनाउन थालेका हुन् । उपत्यका प्रवेश गर्ने नाका जोडिएका काठमाडौँको चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर, सूर्यविनायक, नागार्जुन र दक्षिणकाली नगरपालिकाले नाकामा विशेष सुरक्षा अपनाएका हुन् ।
तारकेश्वर नगरपालिकाले अनुमति नलिई प्रवेश गर्न खोज्ने अपरिचित व्यक्ति तथा सवारी साधनलाई नगरपालिका क्षेत्रमा कडाइका साथ रोक लगाउने निर्णय गरेको छ । बन्दाबन्दीको अवधिमा उपत्यका बाहिरबाट कुनै व्यक्ति आफ्नो टोलमा प्रवेश गरेको जानकारी भएमा तत्काल नजिकको प्रहरी, स्वास्थ्य वा वडा कार्यालयमा खबर गर्न सबै नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ । त्यस्ता व्यक्तिलाई घरधनी वा आफन्तले स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको नगरप्रमुख रामेश्वर बोहराले जानकारी दिनुभयो ।
नागार्जुन नगरपालिकाले कोरोना भाइरसको नियन्त्रण रोकथामका लागि अत्यावश्यक कामबिना बन्दाबन्दी अवधिभर बाहिर ननिस्कन नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाभित्र कोही नयाँ व्यक्ति बसोबास गर्ने गरी वा बहालमा बस्न आएमा तत्काल सम्बन्धित निकायमा सूचना दिन आग्रहसमेत गरिएको नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
टोखा नगरपालिकाले उपत्यका बाहिरबाट वडा नं. १ झोर महाँकाल हुँदै काठमाडौँ प्रवेश गर्ने नाकामा नेपाल प्रहरीले गस्ती गर्ने व्यवस्था मिलाएको छ । झोरमा यसअघिदेखि नै नेपाली सेनाको ब्यारेक बस्दै आएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सो क्षेत्रमा प्रहरीले समेत आवतजावत रोक्न गस्ती गर्ने गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । सो क्षेत्रबाट अहिले आवतजावत बन्द गरिएको र हेल्थ डेस्क राखी स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया