भेनेजुएला प्रकरणबारे संसदमा जवाफ दिन कांग्रेस सांसदको माग


काठमाडौँ – भेनेजुएला प्रकरणले संसदमा प्रवेश पाएको छ । विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सरकारसंग जवाफ माग गरेका हुन् । कांग्रेस सांसद डिला संग्रौला र भीमसेनादास प्रधानले भेनेजुएला संकटबारे सत्तारुढ नेकपा र सरकारले अनावश्यक बोलेर देशलाई विवादमा पारेको भन्दै सरकारको आलोचना गरे ।

पुर्व रक्षामन्त्री समेत रहेका सांसद प्रधानले बैठकमा भने, ‘भेनेजुएलाबारे कस्ले बोलेको आधिकारिक धारणा हो ? हामीले कस्ले भनेको पत्याउने ? त्यसबारे सरकारको धारणा के हो ? प्रधानमन्त्रीले जवाफ दिनुपर्यो ।’ नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको भेनेजुएला प्रकरणबारे फरक–फरक धारणा आएपछि कांग्रेसले संसदमा विरोध जनाएको हो ।

कांग्रेस सांसद संग्रौलाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिबारे अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको धारणाले अन्योलता सिर्जना गरेको दाबी गरिन् । उनले नेपाललाई लामो समयदेखि सहयोग गर्दै आएको अमेरिकालाई सरकारले चिढ्याउने काम गरेको आरोप समेत लगाईन् ।

विज्ञप्तिपछि नेपाल अमेरिका सम्बन्धमा चिसोपना आएको छ भने आन्तरिक राजनीतिसमेत तरंगित भएको छ । विज्ञप्तिबारे बिहिबार नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले जिब्रो चिप्लिएको भन्दै बचाउ गर्न खोजे पनि अर्का अध्यक्ष दाहालले त्यसको खण्डन गर्दै आफूले होसमै भेनेजुएलबारे बोलेको बताएपछि सत्तारुढ दलको फरक फरक धारणा सतहमा आएको थियो । यसअघि नेकपाको सचिवालयले दाहालको धारणालाई नै पार्टीको आधिकारिक धारणा भएको निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement