नेपालमा १० वर्षमा ४० लाखले नयाँ रोजगारी पाएः विश्व बैंक


काठमाण्डु – विश्व बैंकले नेपालमा १० वर्षमा ४० लाख जनाले रोजगारी पाएको बताएको छ । विश्व बैंकको एक प्रतिवेदनले एक दशकमा नेपालमा ४० लाखले नयाँ रोजगारी पाएको उल्लेख छ ।

विश्व बैंकले नेपालको अर्थतन्त्र बिस्तारै निर्वाह कृषिबाट आधुनिक उद्योग र सेवाहरूका लागि क्रमशः परिवर्तन हुँदै गएको जनाएको छ । बैंकले संरचनात्मक संक्रमणले श्रम शक्तिका लागि राम्रो काम गर्ने अवसरहरू ल्याइरहेको उल्लेख गरेको छ । सन् २००८ देखि २०१८ को अवधिमा नेपालमा ४० लाखले नयाँ रोजगारी पाएको नेपाल जव डाइग्नोस्टिक रिपोर्टले देखाएको छ ।

रोजगारीमा ठूलो प्रगति भएपनि विशेषगरी महिलाहरुले भने गुणस्तरिय रोजगार नपाएको बताइएको छ । पछिल्लो दशकमा धेरै संख्यामा पुरुषहरूले निर्माण क्षेत्र, उद्योग क्षेत्र र यातायातमा रोजगारी पाएका छन् । त्यस्तै विदेशमा पनि पुरुषको बाहुल्यता बढी पाइन्छ ।

यध्यपी महिलाहरूले पनि पछिल्लो समय रोजगारीमा हिस्सा बढाउँदै लगेका छन् । सन् २००८ मा कूल १७ प्रतिशत हिस्सा रहेकोमा सन् २०१८ मा २४ प्रतिशत पुगेको हो ।

नेपालमा अधिकांश महिलाहरुलाई श्रम शोषण हुने गरेको रिपोर्र्टले देखाएको छ । केही महिलाहरुलाई बेतलबी काममा लगाउने गरेको उल्लेख छ ।

विश्वबैंकका प्रमुख अर्थशास्त्री तथा रिपोर्टका लेखक डा एलिजावेथ रुपर्ट बल्मरले नेपालको आर्थिक विकासमा ज्यालादारी रोजगारी तर्फको यो परिवर्तनले आधारभूत संक्रमणको संकेत गरेको बताएकी छन् ।

‘संसारभर पनि यस्तै देखिन थालेको छ । यसले स्वरोजगारको तुलनामा बढी विशिष्टिकृत रोजगारी सिर्जना गर्छ । उत्पादन र उत्पादकत्व पनि बढाउँछ’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement