काठमाण्डु – फिफा विश्वकप २०२६ को च्याम्पियन बनेको स्पेनले ट्रफी र च्याम्पियनसिपको औंठीसँगै पाँच करोड १० लाख अमेरिकी डलर प्राप्त गरेको छ ।
यो रकम सन् २०२२ को कतार विश्वकपको विजेता (अर्जेन्टिना)ले पाएको चार करोड २० लाख अमेरिकी डलर भन्दा बढी हो।
फिफाले यसपटक ४८ सहभागी टोलीहरूका लिएर संयुक्त रूपमा ८७ करोड १० लाख अमेरिकी डलर भुक्तानी गरेको छ
युरोपेली संघहरूको पैरवीपछि प्रतियोगिताको खर्च धान्न अप्रिलमा थप १० करोड डलरभन्दा बढी रकम जोडिएको थियो।
यद्यपि, पाँच करोड १० लाख डलर ठूलो रकम देखिए पनि यो विश्व फुटबलमा खर्च हुने अन्य रकमको तुलनामा भने कम रहेको बताइएको छ। उदाहरणका लागि यो रकम इङ्लिस क्लब ब्राइटनले १९ वर्षीय डिफेन्डर लुका भुस्कोभिचलाई तिरेको स्थानान्तरण शुल्कभन्दा पनि कम हो।
यस्तो छ पुरस्कार रकम
विजेता (स्पेन) : पाँच करोड १० लाख अमेरिकी डलर
उपविजेता (अर्जेन्टिना) : तीन करोड ४० लाख अमेरिकी डलर
तेस्रो स्थान (इंग्ल्याण्ड) : तीन करोड अमेरिकी डलर
चौथो स्थान (फ्रान्स) : दुई करोड ८० लाख अमेरिकी डलर
क्वार्टरफाइनल पुग्ने टिम (प्रति टिम दुई करोड डलर) : स्विट्जरल्याण्ड, नर्वे, बेल्जियम, मोरक्को
प्रि–क्वार्टरफाइनल (१६औं चरण, प्रति टिम एक करोड ६० लाख) : कोलम्बिया, इजिप्ट, संयुक्त राज्य अमेरिका, पोर्चुगल, मेक्सिको, ब्राजिल, पाराग्वे र क्यानडा
अन्तिम ३२ राउन्ड अफ (प्रति टिम एक करोड २० लाख): घाना, अल्जेरिया, अष्ट्रेलिया, केप भर्डे, अस्ट्रिया, क्रोएसिया, बोस्निया र हर्जगोभिना, सेनेगल, डीआर कंगो, इक्वेडर, स्वीडेन, आइभरी कोस्ट, नेदरल्याण्ड्स, जर्मनी, जापान र दक्षिण अफ्रिका
समूह चरण (प्रति टिम एक करोड अमेरिकी डलर) : उरुग्वे, स्कटल्याण्ड, दक्षिण कोरिया, इरान, उज्बेकिस्तान, इराक, साउदी अरेबिया, कुराकाओ, चेक गणराज्य, कतार, पानामा, जोर्डन, ट्युनिसिया, न्युजिल्याण्ड, हाइटी र टर्की
प्रतियोगितामा सहभागी हुने सबै ४८ राष्ट्रिय संघले कम्तीमा एक करोड २५ लाख डलर पाएका छन्। यसमा छनोट र समूह चरणमा खेल्दा आउने एक करोड डलर तथा प्रतियोगितापूर्व प्रशिक्षण र खर्चका लागि दिइने २५ लाख डलर पनि समावेश छ।





प्रतिक्रिया