चिनियाँ राष्ट्रपति सीलाई तेस्रो कार्यकालका लागि बाटो खुल्याे


काठमाडाैं–चीनमा दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्ने संवैधानिक बाटो खुला भएको छ। यसअघि दुई कार्यकालसम्म मात्र राष्ट्रपति, उपराष्ट्रपति बन्न पाउने प्राबधान रहेकोमा चीनको नेशनल पिपुल्स कंग्रेस (एनपीसी) ले दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने वर्तमान संविधानको व्यवस्था संशोधन गरेको हो।

चिनियाँ संविधानमा आइतबार गरिएको संशोधनले वर्तमान राष्ट्रपति सी जिङफिङलाई तेस्रो कार्यकालका बाटो खुला गरिदिएको बीबीसीले उल्लेख गरेको छ।

संविधानमा गरिएको यो परिवर्तन देशको शान्ति, सम्वृद्धि तथा सुरक्षाका लागि कोशेढुंगा सावित हुने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

चिनियाँ संविधानमा १४ वर्षपछि गरिएको यो पहिलो संशोधन हो। चीनमा पहिलो संविधान सन् १९५४ मा बनेको थियो। अहिलेको संविधान सन् १९८२ मा निर्माण भएको हो। यो संविधानले लिएको नीतिअनुसार चीनले आर्थिक सम्वृद्धिको दिशामा ठूलो फड्को मार्न सफल भएको छ।

वर्तमान संविधानको यो पाँचौं संशोधन हो। यसअघि सन् २००४ मा गरिएको संशोधनले निजी सम्पत्ति राख्न पाउने सुनिश्चितता प्रदान गरेको थियो।

उक्त कदमले राष्ट्रपति सी जिनपिङलाई सन् २०२३ मा आफ्नो कार्यकाल समाप्त भएपछि पनि सम्भवतः अनिश्चितकालसम्म सत्तामा रहिरहन बाटो खोलिदिने ठानिएको छ।

कुल २ हजार ९ सय ६४ प्रतिनिधिमध्ये दुई जनाले मात्रै विपक्षमा मत हालेका थिए भने तीन जना अनुपस्थित थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement