यती एयरलाइन्सको सहयोगमा विमानस्थलको मूलगेटमा ट्राफिक बत्ती जडान


काठमाण्डु – यती र तारा एयरलाइन्स प्रालिको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेटमा ट्राफिक बत्ती जडान गरिएको छ । निजी क्षेत्रको हवाई संस्था यतीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वार गोल्डेनगेटमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो ।

सो ट्राफिक बत्तीको आज बिहान यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले ट्राफिक प्रहरीले शहरलाई सभ्य र अनुशासित बनाउने भएकाले विभिन्न सङ्घसंस्थाको सहकार्यमा उपत्यकाका विभिन्न चोकमा ट्राफिक बत्ती जडान कार्यलाई प्राथमिकता दिएको बताए ।

ट्राफिक बत्तीले ट्राफिक व्यवस्थापनमा सहजता ल्याई चालकलाई सभ्य र अनुशासित सिकाउने अपेक्षा लिएको उनको भनाइ छ । यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत रिमालले यती एयरलाइन्सले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्ट भित्रिने मुख्य प्रवेशद्वारमा ट्राफिक बत्ती जडान गरेको बताए ।

एयरलाइन्सका प्रशासन निर्देशक अन्जन बड्गामीले यतीले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए । काठमाण्डु महानगरपालिका–९ का वडा सदस्य टेकराज अधिकारीले ट्राफिक लाईटको जडान र प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

पछिल्लो समय प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडान कार्यमा महाशाखाले खेलेको महत्वपुर्ण भुमिकाको प्रशंसा गरे । उद्घाटन कार्यक्रममा महाशाखा प्रमुख, एयरलाईन्सका पदाधिकारी, स्थानिय निकायका सदस्य र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement