युवा वैज्ञानिक सम्मेलन जेठ २२ र २३ गते


काठमाडौं – दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्ठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्ला खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न युवा वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ। प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यका यही जेठ २२ र २३ गते आयोजना हुने सम्मेलनमा सार्कमा आबद्ध देशसहित बेलायत, फिनल्याण्ड र जर्मनीका एक सयभन्दा बढी युवा वैज्ञानिकको सहभागिता रहनेछ।

मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा युवा सम्मेलनका संयोजक प्रा डा दीपक अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक कार्यान्वयन गर्न सम्मेलनले महत्वपूर्ण योगदान पु¥याउने बताए। सम्मेलनमा जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेका असर, वन, कृषि, पर्यटन, ऊर्जा जल तथा ऊर्जा क्षेत्रमा पछिल्लो समय विकसित उपलब्धिलाई कार्यपत्र तथा पोष्टर प्रदर्शनीका माध्यमबाट प्रस्तुत गरिने छ।

प्रा डा रामेश्वर अधिकारी र प्रा डा विनोद दवाडीले विश्वविद्यालयमा प्राप्त ज्ञानलाई व्यावहारिक रुपमा उतार्न सम्मेलन सेतु बन्ने बताए। नेपालका विभिन्न क्षेत्रका कार्यरत ३५ युवा वैज्ञानिकले आफ्ना कार्यपत्र तथा आफूले गरिरहेका खोज तथा अनुसन्धानलाई प्रस्तुति दिनेछन्।

‘विश्वमा विकसित विज्ञान तथा प्रविधि क्षेत्रका ज्ञानसित सार्क क्षेत्रका वैज्ञानिकका ज्ञानलाई सम्मेलनले जोड्न सहयोग गर्नेछ’, उनले भने। पत्रकार सम्मेलनमा प्रदेश नं ३ का उद्योगमन्त्री अरुणप्रसाद नेपालले आर्थिक समृद्धिलाई सहयोग पु¥याउन मन्त्रालयले पहिलो पटक सम्मेलन आयोजना गर्न लागिएको बताए। उनले भने ‘स्थानीय निकाय, प्रदेश तथा सङ्घलाई समेत विज्ञान तथा प्रविधिका क्षेत्रमा आगामी दिनमा गर्नुपर्ने कामको मार्गनिर्देशसमेत सम्मेलनले गर्नेछ। विज्ञान तथा प्रविधिको विकासविना आर्थिक समृद्धि हासिल गर्न कठिन छ। यस क्षेत्रमा लगानी बढाउन आवश्यक छ।’ रासस

प्रतिक्रिया दिनुहोस
Advertisement