काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले सरकारले विद्युतीय खरिद प्रणाली (इबिडिङ) बन्द गरेर ठेक्कापट्टामा लुटपाट र गुण्डागर्दी शैली संस्थागत गर्न खोजेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले दुलालले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रभावकारी, प्रतिस्पर्धी र मितव्ययी बनाउन २०७० सालमा लागू गरिएको विद्युतीय खरिद प्रणाली १३ वर्षपछि आएर बन्द गरिएको भन्दै आपत्ति जनाए ।
प्रणालीमा ह्याक भएको बहानामा स्वार्थ समूहको प्रभावमा परेर सरकारले इबिडिङ प्रणाली खारेज गर्न चाहेको आरोप उनको थियो ।
इबिडिङ सिस्टमलाई कागजी मोडलमा लगेर गुण्डागर्दी र लुटपाटको शैलीमा ठेक्कापट्टा लगाउने अवस्था आयो भने सरकारका लागि कुशासनको मार्ग प्रशस्त गर्ने योबाहेक अरु बाटो नहुने उनले बताए ।
उनले साउन, भदौ, असोज र कात्तिकजस्ता महिनामा संघ, प्रदेश र स्थानीय तहका कार्यालयबाट ठूलो संख्यामा ठेक्का प्रक्रिया अघि बढ्ने भए पनि इबिडिङ बन्द हुँदा औषधि, स्वास्थ्य सामग्री तथा अत्यावश्यक सामग्री खरिददेखि विकास निर्माणका कामसमेत प्रभावित भएको उल्लेख गरे ।
सरकारले विद्युतीय खरिद प्रणालीमा ह्याक भएको कारण देखाएर यसलाई बन्द गर्न खोजेको सूचना आफूहरूले पाएको दुलालले बताए । प्रणाली ह्याक भएको भए त्यसमा संलग्न जोसुकै भए पनि छानबिन गरी कारबाही गर्नुपर्ने उनको माग छ ।
‘इबिडिङ सिस्टम तत्काल खुलाइयोस्, पूर्ण सञ्चालनमा ल्याइयोस् । ह्याक भएको रहेछ भने ह्याकिङमा संलग्नहरूलाई छानबिन गरियोस् । पुराना होऊन् या नयाँ, कर्मचारी होऊन्, व्यवसायी होऊन् या बिचौलिया—जोसुकै भए पनि कारबाहीको राडारमा आउँछन् भने कारबाही गरियोस्, उन्मुक्ति नदिइयोस्,’ उनले भने ।
दुलालले पुरानो प्रणालीको कोडबाट काम गर्न नसकिने बहाना बनाएर बिचौलिया, कर्मचारी र व्यवसायीको मिलेमतोमा इबिडिङ प्रणाली नै कमजोर बनाउने प्रयास भइरहेको सूचना आफूले पाएको दाबी गरे ।
डिजिटल शासन, सुशासन र समृद्धिको कुरा गर्ने सरकारले विद्युतीय खरिद प्रणाली बन्द गरेर कागजी प्रक्रियामा फर्किन खोज्नु विडम्बना भएको उनले बताए ।
उनले इबिडिङ प्रणाली तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन र बन्द गर्नुको कारणबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।




प्रतिक्रिया