काठमाण्डु – रक्षा सचिव किरणराज शर्मा र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । दुवैबीच सैनिक मुख्यालयमा बिहिवार भेटवार्ता भएको सैनिक स्रोतले बतायो ।
नेपाली सेनाले महंगो मुल्यमा चीनबाट ६ अर्ब वरावरको एपिसी र हतियार खरिद गर्ने तयारी गरेको थियो । सेनापति र रक्षासचिव शर्माबीच त्यसलाई तत्काल रोक्ने वारे छलफल भएको सैनिक स्रोतको दावी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यसलाई तत्काल अघि नबढाउने सहमति भएको स्रोत बताउंछ ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले रक्षासचिव र प्रधानसेनापतिबीच दैनिकजस्तो भेटवार्ता भइराख्ने भन्दै आजको भेटबारे भने आफु जानकार नभएको बताए । सैनिक प्रवक्ता भण्डारीले चीनबाट हतियार र गाडी खरिदको विषयमा समेत आफुलाई कुनै जानकारी नभएको दावी गरे ।
‘एपीसी र एमपीभी चीन,भारत र अमेरिका सवैतिरबाट खरिद गरेर प्रयोग गरेका छौं, तर, अहिले चीनबाट आउन लागेको विषयमा भने मलाई जानकारी भएन ।’ भण्डारीले काठमाण्डुपाटीसंग भने ।
सेनाले तत्कालिन प्रधानमन्त्री देउवाको पालामा चीनबाट २६ वटा एपिसी, ७२ वटा टयाक्टीकल भेइकल र गोली खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो । माओवादी केन्द्रका दाहाल प्रधानमन्त्री भएपछि सेनाले यो प्रक्रिया फेरी अघि बढाएको हो ।
रक्षामन्त्री पूर्णबहादुर खड्काको जोडबलमा चीनबाट १० हजार थान सीक्यु समेत राइफल समेत खरिद गर्ने तयारी रहेको स्रोत बताउंछ । सेनाको खरिदमा रक्षासचिव किरणराज शर्माको समेत विशेष रुची छ ।
सेनाले कल्याणकारी कोषको पैसाबाट शान्ति सेनालाई आवश्यक पर्ने गाडी र गोली चीनबाट खरिद गर्न लागेको हो । कल्याणकारीको पैसाबाट सेनाले भारतको महेन्द्रा कम्पनीबाट समेत चार वटा एपीसी समेत खरिद गर्दैछ । सेनाले चीन र भारतीय दूतावासमार्फत कोटेशन मागेर सामान खरिद गर्न लागेको हो ।
सेनाले भारत र चीन दुवै देशबाट एपीसी खरिद गरेर भूराजनीतिक सन्तुलन कायम गर्न खोजेको छ । तर, भारतिय सेनाका नेपालस्थित प्रतिनिधिले समेत प्रधानसेनापति शर्मालाई टेलिफोन गरेर यसबारेमा असन्तुष्टि राखिसकेको स्रोत बताउंछ ।
सेनाले भारतबाट खरिद गर्न लागेको महेन्द्राको एपीसी तीन करोड ९८ लाखमा र चीनबाट ल्याउन लागेको एपीसीको मुल्य भने सात करोड ७५ लाखमा खरिद गर्न लागेको छ ।
सेनाले एपीसी जी टु जीमार्फत खरिद गर्न लागेको दावी गरेको छ । तर, यो विचमा चीनको नोरिन्को भन्ने कम्पनीले एजेण्ट नै परिवर्तन गरेर मिलेमतोमा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीका भाई लोकेन्द्र कार्कीका स्टाफ राजकुमार नाइडुको नाममा एजेन्सी दिइएको छ ।
यसमा कांग्रेस सभापति देउवा साला भुषण राणा र उनका परिवारका सदस्यको समेत संलग्नता रहेको स्रोत बताउंछ । सेनाको शान्ति सेना हेर्ने सहायकरथी सन्तोषबल्लभ पौडेलको विशेष सक्रियतामा चीनबाट एपीसी खरिद गर्न लागिएको हो । पौडेल,कार्की र राणाको विशेष सम्बन्ध छ । उनिहरुको नोरिन्कोसंगकोको छलफलपछि पुराना एजेण्टलाई नै वाइपास गरेर कार्कीका स्टाफलाई एजेन्सी दिएर एपीसी खरिद अघि बढाइएको हो ।
नोरिन्कोको नेपाली प्रतिनिधि यसअघि उमेश श्रेष्ठ थिए । तर, पौडेलसहित उच्च सैनिक अधिकारीहरुको मिलेमतोमा एजेन्सी परिवर्तन गरिएको हो ।
चीनबाट महंगो मुल्यमा एपीसी र हतियार ल्याउने तयारी भएसंगै राजनीतिक नेतृत्वमाथि दबाव बढेको छ । कांग्रेस सभापति देउवाले रक्षामन्त्री खड्कालाई बोलाए तत्काल यो प्रक्रिया रोक्न भनेका छन् । उनका पिए भानु देउवाले समेत सचिव शर्मालाई टेलिफोन गरेर देउवाको सन्देश सुनाइसकेका छन् ।
कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहालको निर्देशनपछि रक्षासचिव प्रधानसेनापति शर्मालाई भेट्न सैनिक मुख्यालय गएका हुन् । रक्षासचिव शर्मालाई यसवारेमा प्रश्न गर्दा उनि पन्छिन् खोजे । शर्माले यसबारेमा प्रवक्तालाई सोध्न भने । उनलाई पटक पटक टेलिफोन गरेर काठमाण्डुपाटीले सोध्न खोज्दा उनले रेन्पोन्स गरेनन् ।
यो पनि पढ्नुहोस्-
चीनबाट ६ अर्ब बरावरको हतियार किन्दै सरकार,देउवाका साला र ज्ञानेन्द्र कार्कीका भाईको संलग्नता
चीनबाट हतियार खरिद गर्ने निर्णय नभएको संचारमन्त्रीको दावी




प्रतिक्रिया